ग्लोबल आइएमई बैंकद्वारा ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात


२३ मंसिर २०७७, मंगलवार
Corporate system global ime scaled

काठमाडौं, २४ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन् ।

त्यस्तै, उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेशनको सुरक्षित व्यवस्था गरिएको छ । साथै ग्राहकले आफ्नो आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिङ्क गरी कारोबार गर्न सकिने सुविधा रहेको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न किसिमका डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ । यस ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा पुग्नेछ ।

यस प्रणालीको प्रयोग र बिस्तार पश्चात भौतिकरुपमा बैंकमा नपुगी अनलाइनमार्फत विभिन्न भुक्तानी गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई यसबाट सहजरुपमा सेवा प्रदान गर्न सकिने बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७