एमाले सांसद शाहीले राजीनामा मात्र दिएनन्, यसकारण पार्टी नै त्यागे

पैसामा प्रदेशको मन्त्री बेचियो : चन्द्रबहादुर शाही


७ फाल्गुन २०७४, सोमबार
Chandara Bahadur Shahi

काठमाण्डौं, ७ फागुन : प्रदेश–६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै मुगुका सांसद चन्द्रबहादुर शाहीले सांसद राजीना दिंदै पार्टीको साधारण सदस्यता समेत त्यागेका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका हुन् ।Chandara Bahadur Shahi

राजीनामा दिन सुर्खेतबाट सोमबार विहान काठमाडौं झरेका शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत सभामुखलाई पठाएका छन् । त्यस्तै पार्टीको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय कार्यालयमा राजीनामा बुझाउन लागेको शाहीले बताएका छन् ।
एमाले नेता शाही प्रदेश–६ को सभामुखको दाबेदार थिए । तर, पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी मन्त्रीको आकांक्षी थिए । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा एमालेबाट उनी परेनन् । त्यसपछि उनले अपमानित महसुस गर्दै राजीनामा दिएको बताएका छन् ।

शाहीले भने–‘नव प्रवेशी र पैसावालहरुलाई आर्थिक चलखेल गरेर संसदीय दलका नेता यमलाल कँडेलले मन्त्री बनाएका हुन् । पार्टीमा कुनै योगदान नगरेका र कुनै कमिटीमा नरहेका व्यक्तिलाई सभामुख बनाइयो । ममाथि सहनै नसकिने अन्याय गरेपछि धेरै पीडावोध महसुस गरेर राजीनामा दिएको हुँ । ‘नव प्रवेशी र पार्टीमा कुनै योगदान नगरेका व्यक्तिहरुलाई आर्थिक चलखेल गरेर मन्त्री बनाइन्छ भने यस्तो पार्टीमा कसरी बस्न सकिन्छ ?’ शाहीले भने, ‘पार्टीमा लागेर जेलनेल खाएको र मुगुमा पार्टी स्थापना गर्दै केन्द्रीय कमिटीसम्म पुगेको व्यक्तिमाथि यो भन्दा ठूलो अपमान केही हुँदैन’ ।

एमाले नेता शाही २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका थिए । मुगुमा एमालेबाट चुनाव जित्ने शाही पहिलो व्यक्ति हुन् । उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने हाल सल्लाहकार छन् ।

एमालेबाट मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् भने हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेका एनजिओकर्मी रहेको शाहीले बताएका छन् । उनले सुर्खेतका ठेकेदार खड्ग खत्रीलाई दलका नेता कँडेलले आर्थिक चलखेल गरेर मन्त्री बनाएको आरोप समेत लगाएका छन् ।

२०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका शाही १५ वर्षसम्म मुगुमा एमालेको पार्टी प्रमुख भएर काम गरेका थिए । उनी यसअघि एमालेको कर्णाली अन्चल समन्वय कमिटी सदस्य थिए । पार्टीभित्र उनी माधव नेपाल खेमाका मानिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७