ओलीले ‘अनन्य सहयोगी’ लाई पाखा लगाएर किन रोजे डा. खतिवडा ?


१४ फाल्गुन २०७४, सोमबार
Kp oli and yubraj khatiwada

प्रबिन कुलुङ राई
काठमाडौं १४ फागुन: एमालेका प्रभावशाली नेताहरुलाई उछिन्दै अर्थविद् डा.युवराज खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। योजना आयोगका उपाध्यक्ष डा.खतिवडा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको रुचीमा अर्थमन्त्री बनेका हुन् ।

Kp oli and yubraj khatiwada

 

राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका अर्थविद् डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर हुन् । ८ फागुन २०७४ मा डा.खतिवडा सहित सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस उल्टाएर नयाँ तिन जनलाई सिफारिस गरिएको हो । तर, आइतबार सर्वोच्च अदालतले सपथ नगराउन अन्तरिम आदेश दिएको छ । डा.खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने गरी नै ओलीले राष्ट्रिय सभामा लगेका थिए ।

एमालेमा सबैभन्दा बढी अर्थमन्त्रालयको जिम्मेवारी बिषयमा विवाद भएको थियो । अर्थमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको दाबी थियो । तर, ओलीले डा.युवराज खतिवडालाई बनाउन चाहना राख्दै आएका थिए ।

अर्थमा यसपटक सचिव ज्ञवालीको पनि जाने रुची थियो । अध्यक्ष ओलीले लामो समयदेखी नजिकबाट सघाउदैं आएका ज्ञवालीलाई अर्थको जिम्मेदारी दिने धेरैको अनुमान थियो । शालिन र बौद्धिक छविका सचिव ज्ञवाली पार्टीभित्र लोकप्रिय नेता हुन् । ओलीको सबैजसो अप्ठ्यारोमा साथ दिएका ज्ञवालीले अर्थको जिम्मे पाउने धेरैको अनुमान गलत साबित भएको छ । संगठन र विचार दुबैमा ओलीलाई ज्ञवालीले दरिलो साथ दिदै आएका छन् ।

किन बनाए खतिवडालाई ?

NPC Vice Chairman Yubaraj Khatiwada
अघिल्लो पटक प्रधानमन्त्री बनेका बेला बोलेर लोकप्रियता कमाएका ओलीलाई यसपटक गरेर देखाउने चुनौती छ । बिकास र समृद्धिका सपना देखाएका प्रधानमन्त्री ओलीको लागि यसपटकको जिम्मेवारी निकै चुनौतीपूर्ण छ । संघियता कार्यान्वयनसँगै मुलुकको अर्थतन्त्रमाथिको प्रश्न सुरु भएको छ । पुस मसान्तसम्म देश ६ अर्ब ६६ करोड रुपैयाँ शोधनान्तर घाटामा छ । त्यो चुनौतीलाई पार गर्न पनि डा.खतिवडालाई उनले लैजान खोजेको प्रधानमन्त्रीका निकटस्थहरु बताउँछन् । अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रलाई ‘लिक’मा ल्याएर मुलुकुलाई समृद्धिको दिशामा लैजाने आशाका साथ खतिवडालाई अर्थमन्त्रीमा नियुक्ती गरेका हुन् ।

नेपालका अर्थतन्त्र समस्यामा परेको बेला उनको नियुक्तिले अर्थतन्त्रलाई ’लिक’ मा ल्याउन सहज हुने र विकास निर्माणका लागि आवश्यक पर्ने पर्याप्त स्रोत जुटाउन सहज हुने ओलीको आशा छ । स्रोतका अनुसार आइतबार साँझ ओली महासचिव पोखरेललाई मनाउन सल्लाहकार बिष्णु रिमाललाई पोखरेल निवास पठाएका थिए ।

अर्थमामिला बिषयका अनलाइन बिजमान्डुका अनुसार खतिवडालाई निजी क्षेत्रले खरो अर्थशास्त्रीका रुपमा लिने गरिन्छ । बिजमान्डु लेख्छ, ‘सर्वसाधारणसँग जोडिने सबै क्षेत्र बलियो नियमनमा बस्नु पर्छ भन्ने मान्यता राख्ने खतिवडाले घरजग्गामा अधिक ऋण प्रवाह भएका कारण ’लिक’ वाहिर गइसकेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याएका थिए। बलियो नियमनमा बसेर उचित मुनाफा मात्र लिनु पर्छ भन्ने मान्यता खतिवडाको रहेको हुँदा उनीसँग खेलोफड्को गर्ने शेयर तथा घरजग्गा कारोबारीहरु डराउँछन् ।’

ओलीसँग थियो, विकल्प
अप्ठ्यारोमा रहेका अर्थतन्त्रलाई ‘लिक’मा ल्याउन डा.खतिवडाको आवश्यकता थियो । तर, त्यसको लागि अर्थमन्त्री नै बनाउनुपर्ने बाध्यता भने थिएन । नेताहरुलाई अर्थमन्त्रालयको जिम्मेदारी दिएर बिषयगत नेतृत्व डा.खतिवडालाई दिन सकिने विकल्प थियो । उनको विज्ञता प्रयोग गर्न मन्त्री नै बनाउनुपर्ने बाध्यता भने थिएन ।अर्थविद्हरु भन्छन्,‘डा.खतिवडालाई अर्थराज्यमन्त्री, वा अर्थमन्त्रालय–प्रधानमन्त्रीको मुख्य सल्लाहकार अथवा विज्ञको रुपमा जिम्मेवारी दिएर उनको विज्ञता प्रयोग गर्न सकिन्थ्यो ।’ डा.खतिवडालाई अर्थमन्त्री बनाउने भएपछि ओली समुहमा नै तिव्र असन्तुष्टी देखिएको छ । ओली निकट एक पदाधिकारी भन्छन्,‘डा.खतिवडाको विज्ञता प्रयोग गर्न मन्त्री नै बनाउनुपर्ने केही बाध्यता थिएन ।’

को हुन् खतिवडा ?

Yubaraj Khatiwada
राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार पद तथा गोपनियताको शपथ लिएपछि खतिवडा ।

डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका अर्थविद् हुन् । डा. खतिवडा मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि हुन् । उनले कोलंवओमा यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीको रूपमा काम गरेका थिए । उनी सन् २००९ मै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसका थिए। त्यसपछि उनी राष्ट्र बैंकको गभर्नर नियुक्त भए। राष्ट्र बैंकबाट अवकाश भएपछि केही समयमै फेरि योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। योजना आयोगमा उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक छँदै सन् २००२ मा सदस्यका रुपमा नियुक्त भएका थिए ।

उनले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख, त्रिभुवन विश्वविद्धालयमा (२०४७ देखि २०४८) अध्यापन र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा कार्य गरेका थिए । २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका डा. खतिवडाले वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका हुन् । पछिल्लो समय नेकपा एमालेका अधिकांश आर्थिक नीतिहरु लेखेका खतिवडा केही निश्चित उद्योगहरु राज्यकै लगानीमा चलाउनु पर्ने धारणा राख्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७