को हुन् राष्ट्रियसभामा सिफारिस डा. खतिवडा, बिडारी र पौडेलराई ?
काठमाडौं, ८ फागुन, सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस उल्टाएर नयाँ तिन जनलाई सिफारिस गरिएको हो ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, दलीय सहमति नगरेरै सरकारले एकल रुपमा नाम सिफारिस गरेको भन्दै शीतलनिवासले ती नामलाई अनुमोदन गरेको थिएन । सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भनेको थियो ।
५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ। हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचित भइसकेका छन्। तर ३ जना भने अझै नियुक्त भएको थिएन।
को हुन् नयाँ सिफारिस नयाँ तीन
डा. खतिवडा
डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका अर्थ्विद् हुन् । उनले कोलंवओमा यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीको रूपमा काम गरेका थिए भने २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भए । उनी फेरि ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए ।
उनले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख, त्रिभुवन विश्वविद्धालयमा (२०४७ देखि २०४८) अध्यापन र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा कार्य गरेका थिए । २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका डा. खतिवडाले वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका हुन् ।
रामनारायण बिडारी
रामनारायण बिडारी प्रचण्ड निकट कानुन ब्यवसायी हुन् । हेटौंडाका बिडारी दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट समानुपातिक सभासद् थिए ।
विमला पौडेल राई
यसैगरी विमला पौडेल राई राष्ट्रिय योजना आयोगको पूर्वसदस्य हुन् । एमाले समर्थक वुद्धिजिवी संगठनमा आबद्ध उनी भोजपुर निवासी पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयमा छन्