डिएसपीले नै घरबाट निकाले दूधे छोरासहितकी श्रीमती


१६ फाल्गुन २०७४, बुधबार
dsp 1

पीडित महिला भन्छिन्, ‘अब म कहाँ जाऊ’

काठमाण्डौं, १६ फागुन : प्रहरी कानून पालना गराउने व्यक्ति हुन् । बाटो बिराएकाहरुलाई प्रहरीले नै कार्वाहीको माध्यमबाट सही बाटोमा ल्याएका धेरै उदाहरण छन् । तर, कानून पलना गराउने र मर्यादित समाज निर्माणमा खटिनु पर्ने एक प्रहरी अधिकृतले नै काखे छोरासहित श्रीमतिलाई घरबाट निकालेर बिजोग बनाएका छन् ।dsp 1

अहिले ती पीडित महिला न्यायको खोजीमा रुदैं हिंडिरहेकी छन् । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाउन छन्द कतै पाएकी छैनन् । उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी सरकारी निकायमा उजुरी दिइन् ।

‘मैले कुनै निकायबाट न्याय पाइन् । यताबाट उता जानुस् भन्दै फर्काउछन्,’ अन्यायबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘न्याय माग्दै सबै निकायमा पुगिसकें । अब म कहाँ जाऊ ।’ ०७१ मा डिएसपी बोहरा विवाह गर्ने भन्दै घरमै माग्न गएका थिए । मन मिलेपछि त्यसै बर्ष साउनमा उनीहरुले भागी विहे गरे । त्यसअघि बोहराले जेठी पत्नीसँग सम्बन्धबिच्छेद गरेका थिए । जेठीबाट दुई छोरी छन् । विवाहको एक वर्षपछि अर्कै महिलासँग लागेर आफूलाई यातना दिन थालेको गीताको आरोप छ । ‘ती महिला घरमै आएर म डिएसपी बोहराको श्रीमती हुँ, तँ को होस् भनेर धम्काउँछिन् । त्यसबारे श्रीमानसँग सोध्दा कुटपिट गर्न थाल्नु भो,’ उनले भनिन्, ‘अहिले आएर सबै परिवार मिलेर घरबाटै निकाला गरिदिए । माइतीको शरणमा बसेकी छु ।’

आफूमाथि हिंसा भइरहेको जानकारी सशस्त्र प्रहरी मुख्यालमा दिएपछि डिएसपी बोहराको आधा तलव उनले पाउँदै आएकी छन् । मुख्यालयमा र विभिन्न निकायमा उजुरी दिएको भन्दै उनले थप शारीरिक तथा मानसिकरुपमा यातना दिन थालेको गुनासो गरिन् । ‘श्रीमान् प्रहरी अधिकृत भएकाले उहाँको इज्जतमा असर पर्ला भनेर शुरुमा हिंसा सहेरै बसें । तर उहाँ सुध्रिनु भएन । उल्टै ती महिलालाई घरमै पठाएर मार्छु, काट्छु भनेर धम्की दिन लगाउनु भो,’ उनले भनिन्, ‘आफ्नै श्रीमतीलाई बाहिरको महिला लगाएर धम्की दिनु भो । आफै घर आएर कुटपीट गर्नु भो ।’

घरबाट निकाला गर्दा उनले प्रतिकार गरिन् । उनको दाहिने हातको नाडी काटिएको छ । ‘तरवारले हान्न खोजे । प्रतिकार गर्दा काटियो,’ पत्रकार सम्मेलनमा उनको आँखा रसाए । बोहरा अहिले तेह«थुमस्थित म्याङलुङ सशस्त्र प्रहरी गणका गणपति छन् । यसअघि उनी सीमा सुरक्षा बल नेपालगञ्जमा कार्यरत थिए । उनले गीता पत्नी भएको स्वीकारे । तर, पछिल्लो समय विवाद गर्न थालेपछि सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेको बताए । ‘मैले उसलाई यातना दिएको र हिंसा गरेको छैन । सुडान गएका बेला केही पैसा तलमाथि गरेपछि विवाद भएको हो,’ उनले भने, ‘मबिरुद्व २५ ठाउँमा उजुरी दिएकी छन् । मेरो सम्पत्ति खान यो सब गरेको हो ।’ तर गीताले भने उनको दाबीलाई खण्डन गर्दै कुटपिट तथा ज्यान मार्ने धम्कीका कारण अन्तिम स्थितिमा पत्रकार सम्मेलन गरेको बताइन् । ‘घरमा गयो घर परिवारले लत्ताकपडा बाहिर फाल्दिन्छन् । छोरालाई पनि कुट्छन्,’ उनले भनिन्, ‘न्यायका लागि गुहार गर्दै माइतीमा बसेकी छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७