मनसुन भित्रिएको २१ दिनमा ३३ को मृत्य, ३० बेपत्ता, देशका धेरै ठाउँमा बाढी-पहिरो


१८ असार २०७८, शुक्रबार
Melamchi flood 1

काठमाडौं, १८ असार । नेपालमा मनसुन भित्रिएको २१ दिनको अवधिमा बाढी पहिरो, डुबानमा परेर ३३ जनाको ज्यान गएको छ ।
नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।

गृह मन्त्रालयले हिजो बेलुका अद्यावधिक गरेको तथ्याङ्कअनुसार २१ दिनको अवधिमा बाढी पहिरोमा परेर ३३ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा पाँच जनाको ज्यान गएको छ भने डोटीमा चार, रोल्पामा तीन तथा प्युठान, रौतहट, तनहुँ र चितवनमा दुई–दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालीकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक–एक जनाको ज्यान गएको छ ।

यस्तै यो अवधिमा ३० जना बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् । यस्तै यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट ११२ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने ४७५ घरमा आंशिक क्षति पुगेको छ ।

लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो आएको छ भने केही क्षेत्र डुबानमा परेको छ । मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ । दुई दिनदेखि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश–१ र प्रदेश–२ मा झरी परिरहेको छ ।

गए राति सबैभन्दा धेरै चितवन, मकवानपुर, विराटनगरलगायत क्षेत्रमा पानी परेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ । यस्तै आज पनि देशका धेरै ठाउँमा लगातार झरी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७