भारतमा घट्दै कोरोना संक्रमण, विद्यालय खुलाउने तयारी


२८ असार २०७८, सोमबार

नयाँदिल्ली, २८ असार । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् ।

उत्तराखण्ड, आन्ध्रप्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् । दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा आउँदो सोमवारदेखि कक्षा १ देखि १२ कक्षासम्मका विद्यालय खुल्ने छन् । तर, विद्यार्थी तत्काल विद्यालय जाने छैनन् । विद्यालयमा शिक्षक मात्र जाने छन् । विद्यार्थी घरमै अनलाइनमार्फत पढ्ने छन् ।

यस्तै, बिहारमा कक्षा १० देखिमाथिका कक्षाको पढाइ सोमवारदेखि नै सुरु हुनेछ । यसका लागि ५०, ५० प्रतिशतमा विद्यार्थीलाई आलोपालो गरी विद्यालयमा बोलाइने छ । महाराष्ट्रमा आउँदो ३१ गतेदेखि कक्षा ८ देखि १२ कक्षासम्मको पढाइ हुनेछ । त्यसैगरी आन्ध्र प्रदेशमा अर्को महिना विद्यालय खुलाउने तयारी छ ।

राजस्थानमा भने विद्यालयमा नयाँ भर्नाका लागि अनुमति दिइएको छ । तत्काललाई भने विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिलाई अनुमति दिइएको छैन । त्यसैगरी उत्तरप्रदेशका विद्यालयमा साउन ४ गतेदेखि ९ देखि १२ कक्षासम्मको पढाइ हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७