विभिन्न स्थानका सवारी दुर्घटनामा परी सातको मृत्यु


२८ आश्विन २०७८, बिहीबार
accident

काठमाडौं, २८ असोज । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तिमा सात जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिका–२ भिमसखुवास्थित सडकमा बा.१९ च ४५११ नम्बरको कारले ना.५९ प १२७० नम्बरको मोटरसाइकललाई बुधबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका पुरानो कांटा बस्ने ३८ वर्षीय पेमा दोर्जे घिसिंग र ४० वर्षीय डेनी स्याङताङको घटनास्थलमै मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाडोखोलास्थित सडकमा ना.१ ज ७४१८ नम्बरको माईक्रोबस र स.२ प ३४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार हनुमाननगर कंकालनी नगरपालिका–५ बगमपट्टी बस्ने २० वर्षीय समित्र कुमार सिंहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नरायण सिंह अस्पताल राजबिराज हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–१० ईनरवा बस्ने २२ वर्षीय अरविन खंगको गजेन्द्र नरायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।

हाल फरार रहेका माईक्रोबस चालकको प्रहरीले खोजी गरिरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मास्टर चोकस्थित सडकमा प्रदेश ०२–०३–००१ त १०३ नम्बरको धान काट्ने थ्रेसर गाडी आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गाडीका साहु पर्सा सखुावा प्रसौनी गाउँपालिका–४ बस्ने ५५ वर्षीय रुस्तम मिया अन्सारीको मृत्यु भएको छ । दुर्घटनामा च्यापिएको अवस्थामा रहेका उनको उद्धार गरी हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१ घोडालोटेस्थित सडकमा भे.१ त ५३ नम्बरको ट्याक्टर र कर्णाली प्रदेश–००१ प ९१४२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–२ कोलडाँडा बस्ने ४० वर्षीय प्रेम बहादुर सिजापतिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारकोक्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–४ बिर्तास्थित सडकमा ना.१४ च ४१६४ नम्बरको कारको ठक्करबाट सोही महानगरपालिका–३ छप्कैया बस्ने सफरोज मियाकी छोरी १५ महिनाकी लउवा खातुनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१६ रजहर चोकस्थित सडकमा लु.२२ प ६७६९ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०३–००३ प १५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३६ वर्षीया नैना बस्ताकोटीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०३–००३ प १५२६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने ४० को ज्ञान प्रसाद बस्ताकोटी समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ भाटभटेनीस्थित सडकमा भे.६ प ६२३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि नर्सिङ होम नेपालगंजतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१९ आलानगर बस्ने ३० वर्षीय नवीन भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७