माधव नेपाललाई एमालेले लिंदैन, अरु फर्केर आए हुन्छ : ओली

‘वर्तमान सत्ता गठबन्धन विध्वंशकारी’


७ कार्तिक २०७८, आईतवार
kpolinew123 4IF0qTfKdZ

झापा, ७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा गएका नेता कार्यकर्तालाई एमालेमा फर्किएर काम गर्न आग्रह गरेका छन् ।

आज (आइतबार) झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेता नेपाललाई भने एमालेले नलिने बताए । ‘माधव नेपाल बाहेक अरू पार्टीमा फर्किए हुन्छ । माधव नेपाल जस्ता अपराधी तत्वलाई फेरि नेकपा एमालेले लिंदैन । यो पार्टी भनेको देश बनाउन हिंडेका साथीहरूको पार्टी हो’, ओलीले भने, ‘माधव नेपाल जस्ता देशी विदेशी तत्वहरुको सेवामा, उनीहरूसँग साँठगाँठ गरेर, कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेहरूका लागि यो पार्टीले लिँदैन ।’ उनले अझै पनि नेता नेपालसँग ‘के पछि लागेको’ भन्दै प्रश्न गरेका छन् ।

वर्तमान सत्ता गठबन्धन विध्वंशकारी’

अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बनाउँदैमा अस्थिर र विध्वंशकारी तत्वलाई जनताले निर्वाचनमा भोट नदिने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले गठबन्धन दलको असली नियत जनताले देखिसकेको बताएका हुन् ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकार साढे तीन महिना नपुग्दै ढलपल गरिरहेको बताउँदै एमाले अध्यक्ष ओलीले भने, ‘एमाले नेतृत्वको सरकारलाई चौतर्फी घेराबन्दीमा पारेर पनि हटाउन तीन वर्ष लागेको सबैलाई थाहा छ । आफै भन्नुस् यो सरकार कति कमजोर छ ।’ अध्यक्ष ओलीले राजदूत फिर्ता गरेर प्रधानमन्त्री विदेश भ्रमणमा जानु लज्जास्पद भएको टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७