राष्ट्रपति भण्डारी आन्तरिक भ्रमणमा व्यस्त, आज मनाङ जाँदै


१५ कार्तिक २०७८, सोमबार
President bhandari visit muktinath ld2ZorTrPh

मनाङ, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) मनाङ जाँदैछिन् । अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौंबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए ।

‘मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्नेछिन् ’ जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ ।

यस जिल्लाका हिमाली क्षेत्रमा समेत गत असारको बाढी पहिरोले प्रभाव पारेको छ । यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युतलगायतका स्थानीय संंरचनाहरूको पुनर्निर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन् ।
बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ । त्यस्तै ध्वस्त भएका संरचनाको पुनर्निर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ ।

आज राष्ट्रपति भण्डारीले अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ । हिजो (आइतबार) राष्ट्रपति भण्डारीले गौतम बुद्ध विमानस्थलमा वुद्ध मूर्तिको अनावरण गरेकी थिइन् ।

यस्तै अस्ती (शनिबार) राष्ट्रपति भण्डारीले मुस्ताङ भ्रमण गरेकी थिइन् । सो क्रममा उनले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिंदै मुक्तिनाथ मन्दिरमा पूर्जा अर्चना गरेकी थिइन् । केहि दिनयता राष्ट्रपतिको पर्यटकीय भ्रमण तीब्र बनेको छ । पछिल्ला केहि दिनयता राष्ट्रपति भण्डारी आन्तरिक भ्रमणमा व्यस्त भएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७