एमसीसीबारे देउवा र प्रचण्डमध्ये एक जनाले झुटो बोले : ओली


२२ कार्तिक २०७८, सोमबार
kp oli biratnagar b3YaGQEBPy

विराटनगर, २२ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनका नेताहरुले झुटो बोलेको बताएका छन् । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीले आज (सोमबार) आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन विराटनगर आएका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताए ।

विराटनगर विमानस्थलमा पत्रकारहरुको एमसीसीबारे राखेको जिज्ञासामा अध्यक्ष ओलीले देउवा र प्रचण्डलाई सोध्न भनेका छन् । दुवै जनामध्ये एक जनाले जनतालाई झुक्याउने काम गरेको उनले बताए । ‘एमसीसीको बारेमा सरकारलाई सोध्नुस् न,’ उनले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ । दुई जनामध्ये एउटाले त झुट बोलेको हो नि, होइन ?’ उनले एमालेले अहिले नै एमसीसीका बारेमा केही नबोल्ने बताए ।

केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न आफू र प्रचण्डले हस्ताक्षर गरेर एमसीसी मुख्यालयलाई पत्र पठाएको बताएका थिए भने प्रचण्डले आफूले त्यस्तो पत्र नपठाएको दाबी गरेका थिए । सोही सन्दर्भमा देउवा वा प्रचण्डमध्ये एक जनाले झुटो बोलेको ओलीको भनाई छ । यस्तै, ओलीले प्रतिनिधिसभा विघटन उल्टाउँदा देखिनै अदालतमा राजनीति घुसेको बताए । विघटन सम्बन्धी फैसलाले न्याय मरेको उनले बताए ।

पत्रकारसँग कुरा गर्दै ओलीले संसद् पुनःस्थापना र प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तिबारे परमादेश आएसँगै अदालतमा राजनीति घुसेको दाबी गरे । जनताको सार्वभौमसत्ता खोसेर अदालतमा लिने खालका असंवैधानिक र अन्यायपूर्ण फैसला भएर न्याय पहिल्यैदेखि मरेको ओलीको तर्क थियो ।

‘तपाईँहरूले थाहा पाउनु भएन ?’ ओलीले भने, ‘त्योबेला तपाईहरूले थाहा पाउनु भएन छ, अहिले अलिअलि छताछुल्ल भएपछि थाहा पाउन थाल्नु भएछ ।’ विघटन सम्बन्धी फैसलामा सहभागी हुने सबैले राजीनामा दिनुपर्ने समेत ओलीले बताए । ‘अदालतमा सबै राजीनामा दिने खालका हुनुहुन्छ, अदालतको मर्यादा कसैले पनि पूरा गरेको छैन,’ उनले थपे, ‘संविधानको व्याख्यातासम्म हो अदालत, संविधानको परिवर्तनकारी, संविधान संशोधन गर्ने, संविधान हेरफेर गर्ने अदालतले होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७