संशोधन विना एमसीसी पास हुँदैन, न्यायालय विवादमा हस्तक्षेप हुँदैन : माओवादी

माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा


२३ कार्तिक २०७८, मंगलवार
mao

काठमाडौं, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति र संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने बताएको छ । पार्टी कार्यालय पेरिसडाडामा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा भएका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने स्पष्ट पारेको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पत्र लेखेको अभिव्यक्ति दिएका थिए । एमसीसीमा रहेका केही विषय आपत्तिजनक रहेको र राष्ट्रिय सहमति नभई अघि नबढ्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

त्यस्तै माओवादीले न्यायालयमा भइरहेको आन्दोलनका विषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायालयले नै टुङ्गाउनुपर्ने महराले बताए । त्यस्तै माओवादीले सत्ता गठबन्धनको संयन्त्रमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।
माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा
नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महाराले बताए ।

‘आगामी पुसमा हुने राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको छ’, प्रवक्ता महराले भने । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस दोस्रो साता गर्ने यसअघि नै तय भएको थियो । तर, स्थानको विषयमा निर्णय गरिएको थिएन । माओवादीका टोल सम्मेलन २७ कात्तिकसम्म, वडा सम्मेलन ४ मंसिरसम्म, स्थानीय तहको सम्मेलन ११ मंसिरसम्म र प्रदेश सम्मेलन २५ मंसिरसम्म गर्ने तय भएको छ । सदस्यता नवीकरणको म्याद २७ कात्तिक यसअघि नै थपिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७