सभापतिमा साझा उम्मेद्वार नभए देउवालाई पार्टी बुझाई दिए हुन्छ : शशांक कोइराला

पौडेलको प्रस्ताव : सभापतिमा अघि सार्नुस्, तीन तहको चुनाव जिताएर विदा हुन्छु


२६ कार्तिक २०७८, शुक्रबार
Ramchandra and Shasanka1631793198

काठमाडौं, २६ कात्तिक । कांग्रेस महामन्त्री शशांक कोइरालाले आसन्न महाधिवेशनमा आफूहरुको तर्फबाट सभापतिको साझा उम्मेदवार नभए पार्टी शेरबहादुर देउवालाई बुझाई दिंदा हुने बताएका बताएका छन् ।

आज (शुक्रबार) काठमाडौं बत्तिसपुतलीमा पौडेल समूहको बैठकपछि महामन्त्री कोइरालाले चार जना आकांक्षीहरुकाबीच एकतावद्ध भएर एक मात्रै उम्मेदवार बन्ने सहमति कायमै रहेको जानकारी दिएका छन् । आसन्न महाधिवेशनमा कांग्रेस सभापतिमा शेरबहादुर देउवा आफै दोहोरिन चाहेका छन् भने उनलाई उपसभापति विमलेन्द्र निधिले चुनौती दिइरहेका छन् । पौडेल समूहबाट भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

‘एक जना मात्रै उम्मेदवार हुनुपर्छ भन्नेमा सबै जना सहमत नै हुनुहुन्छ । तर, को हुने ? भन्ने अझै पनि छलफलमै छ । अहिले नै भन्न सकिने अवस्था त छैन,’ शुक्रबारको छलफलपछि महामन्त्री कोइरालाले भने, ‘हामी चार जना आकांक्षी छौँ । हामीहरु अझै पनि छलफलमै छौं ।’

उनले बैठकमा वरिष्ठ नेता पौडेलले चार जनामध्ये एक जना मात्रै साझा उम्मेदवार बनाउन आग्रह गरेको बताए । ‘आइतबार केन्द्रीय समिति बैठक छ । हामीले अहिले केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्‍यौं । अब साझा उम्मेदवारीबारे केन्द्रीय समिति बैठकपछि हामी चार जना आकांक्षी बसेर छलफल गर्छौँ । एउटै उम्मेदवार बनाउनुपर्छ भन्नेमा एकमत छौँ,’ कोइरालाले भने ।

महामन्त्री कोइरालाले पौडेल समूहमा अहिलेसम्म कुनै पनि विभाजन नरहेको दाबी गरे । ‘टिममा अहिलेसम्म विभाजन छैन । सभापति पदका लागि चारै जना उम्मेद्वार छौं । त्यही कारणले विभाजित मनस्थितिमा देखिएको हो,’ कोइरालाले भने, ‘हामीहरुमध्ये एक जना मात्रै उम्मेदवार नभए त हामीले फेरि शेरबहादुर देउवाजीलाई बुझाई दिए हुन्छ ।’

प्रकाशमान सिंह किन नआउनु भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले भने, ‘उहाँ काठमाडौं बाहिर भएर नआउनुभएको हो । हामीसँग सम्पर्कमै हुनुहुन्छ ।’ उनले आफू पनि टिमलाई एकताबद्ध बनाएरै अघि बढ्ने पक्षमा रहेको बताए ।
पौडेलको प्रस्ताव : सभापतिमा अघि सार्नुस्, तीन तहको चुनाव जिताएर विदा हुन्छु
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुसँग तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारेका छन् ।
चार आकांक्षीबीच सहमति जुट्न सम्भावना गर्दै गएपछि वरिष्ठ नेता पौडेलले शुक्रबार आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर नयाँ प्रस्ताव अघि सारेका छन् ।

‘कि तपाईहरु नेतृत्वका विषयमा सहमति गर्नुस्, नत्र म सबैलाई संयोजन गर्न सक्छु, मलाई नेतृत्वमा सबैले अगाडि सार्नुस्,’ पौडेलले बैठकमा भने, ‘म पुरा कार्यकाल सभापति बन्दिनँ । तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर विदा हुन्छु । त्यसपछि तपाईहरुलाई नै छोड्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७