ओलीको कटाक्ष : पुच्छर समातेर हिंडेकाहरु कांग्रेसले पुच्छर हल्लाए कहाँ पुग्ने हुन्

‘न्यायिक क्षेत्रलाई क्यान्सर भएको छ, अप्रेसन र किमोको आवश्यकता छ’


८ मंसिर २०७८, बुधबार
cyber circle yjL6GDoLXM

काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एउटा पार्टी मात्र नभएर देश र जनताको प्रतिनिधित्व गर्ने मुख्य शक्ति भएको दावी गरेका छन् । उनले नेपाली कांग्रेसको पुच्छर समातेर हिंडेकाहरूले फुर्ती लगाइरहेको भन्दै उनीहरूले फुर्ती लगाउनुको अर्थ नरहेको पनि बताए ।

आज (बुधबार) युवा संघ नेपालको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसको पुच्छर समातेर हिँडेकाहरूलाई कुन बेला काँग्रेसले पुच्छर हल्लाएर कहाँ पुर्‍याउने हो भन्ने ठेगान नभएको भन्दै सचेत तुल्याए । सात वर्षअघि अध्यक्षको चुनावमा आफूसँगै पराजित भएका मान्छेले केही दिनअघि हिन्दी फिल्मको भिलेको डाइलग भनेको उल्लेख गर्दै ओलीले भने, ‘त्यसो भए त सात वर्ष अघि नै चुरचुर भइसक्नुपर्ने त ।’ पाँच दलीय गठबन्धन सरकारमा आएपछि देशमा आन्दोलन नभएर सर्वोच्च अदालतको आँगनमा आन्दोलन हुन थालेको ओलीले आरोप लगाए । उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार भएपछि यस्तो नभएर के हुन्छ ?’

ओलीले प्रविधिको महत्वलाई ध्यानमा राखेर यसको दुरुपयोग हुन जोगाउने र राष्ट्र निर्माणका सही पक्षलाई उजागर गर्न साइबर सर्कललाई सुझाव दिए । उनले राष्ट्रिय हितको पक्षमा उभिने भावना जगाउने काम साइबर सर्कलले गर्ने अपेक्षा समेत गरे । कार्यक्रममा मदन भण्डारीको संयोजकत्वमा साइबर सर्कलको ३०१ सदस्यीय केन्द्रीय टिम बनाइएको जानकारी समेत दिइएको छ ।
‘न्यायिक क्षेत्रलाई क्यान्सर भएको छ, अप्रेसन र किमोको आवश्यकता छ’
अध्यक्ष ओलीले न्यायिक क्षेत्रलाई क्यान्सर भएको बताउँदै त्यसलाई जरैदेखि फ्याँक्नु पर्ने बताएका छन् । ओलीले न्यायिक क्षेत्रमा भइरहेको विवादलाई ‘क्यान्सर’को संज्ञा दिएका छन् । उनले सत्तारुढ गठबन्धनको कारण सर्वोच्च अदालतमा विवाद भइरहेको पनि आरोप लगाए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई लिएर सर्वोच्च अदालतमा जारी विवादबारे ओलीले भने, ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ । न्यायाधीश, बारले भनिरहेको छ । वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी, जनता छक्क परिरहेको छ । क्यान्सरको उपचार धामी बोलाएर दुबोको मुन्टा, कुखुराको अण्डा ल्याएर यसो यसो पारेर दुनामा लगेर मन्साउने ?’

सामान्य रूपमा सर्वोच्च अदालतको विवाद साम्य नहुने ओलीको भनाइ थियो । ’त्यो विचरा अण्डा मन्साएर, अण्डा पर लगेर राखेर क्यान्सर निको हुन्छ ? अप्रेसनको आवश्यकता छ । किमोको आवश्कयता छ । बिमार त्यो तहको छ,’ उनले भने । सर्वोच्च अदालतमा जारी विवाद आफ्नो नेतृत्वको सरकारतिर फ्याँकिएको ब्रह्मास्त्र फर्किएको ओलीको भनाइ छ । उनले पाँच दलको कारण सर्वोच्चमा विवाद जारी रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७