एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ


११ मंसिर २०७८, शनिबार
narayankaji shresth

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । पार्टीको पोखरा महानगरपालिका समितिको दोस्रो अधिवेशन उद्घाटनमा शनिबार उनले यस्तो बताएका हुन् ।

नेता श्रेष्ठले सत्तारुढ दल नेपाली कांग्रेस पनि परिमार्जन नगरी एमसीसी पास गर्ने पक्षमा नरहेको बताए । ‘नेपाली कांग्रेसले गठबन्धन नै तोडेर एमसीसी पास गर्छ जस्तो लाग्दैन,’ उनले भने, ‘यदि त्यस्तो भएछ भने गठबन्धनका निम्ति राष्ट्रियतामा हाम्रो पार्टीले सम्झौता गर्दैन ।’

आगामी चुनावमा कुन पार्टीसँग गठबन्धन गर्ने भन्नेबारे पार्टीमा निर्णय नभइसकेको उनले बताएका छन् । पार्टीको स्थिति, अन्य पार्टीका धारणा र राष्ट्रिय आवश्यकताका आधारमा कुन–कुन पार्टीसँग चुनावी गठबन्धन गर्ने भन्ने टुङ्गो लाग्ने उनले बताएका छन् । अहिलेको गठबन्धनमा भएका दलमध्ये कसै न कसैसँग गठबन्धन हुन्छ । सबैसँग हुने कि नहुने भन्ने एउटा निर्णयमा पुगिसकेका छैनौं,’ नेता श्रेष्ठले भने ।

राष्ट्रिय सम्मेलन संगठन सुदृढीकरणको अभियान सँगै संगठन रुपान्तरणको पनि अभियान भएको उनले बताएका छन् । अहिलेको अधिवेशन पार्टी रुपान्तरणको एउटा अङ्ग बन्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘संगठन सुदृढीकरण मात्रै ठान्यौं भन्ने कांग्रेस र एमाले जस्तो हुन्छ । संगठन बन्छ, चुनाव हुन्छ, नेता हुन्छन् त्यसले संगठन सक्रिय जस्तो देखिन्छ तर क्रान्तिकारी रङ्ग त्यसमा देखिँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७