कांग्रेसको पहिलो प्रदेश अधिवेशन : आज उम्मेद्वारी दर्ता

प्रदेश–२ मा अधिवेशन अनिश्चित


१७ मंसिर २०७८, शुक्रबार
congress

काठमाडौं, १७ मंसिर । कांग्रेसको महाधिवेशन अन्तर्गत सातमध्ये ६ वटा प्रदेशमा नेतृत्व चयनका लागि प्रक्रिया शुरु भएको छ । नेपाली कांग्रेस पहिलोपल्ट आफ्नो प्रदेशस्तरीय कार्यसमिति गठन प्रक्रियामा छ ।

हिजो एकैसाथ अधिवेशन उद्घाटन गरिएका ६ वटा प्रदेशमा आज (शुक्रबार) देखि चुनावी प्रक्रिया शुरु भएको हो । प्रदेश–१, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो । हिजो प्रदेश–१ मा विवादका कारण अधिवेशन उद्घाटन हुन सकेन । तर केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । प्रदेश–१ मा १,७७०, वागमतीमा २,१३७, गण्डकीमा १,१५३, लुम्बिनीमा १,६४२, कर्णालीमा ७४९ र सुदूरपश्चिममा ९८७ जना मतदाता छन् ।

त्यस्तै अधिवेशन उद्घाटन भए पनि प्रदेश–२ मा अधिवेशन अनिश्चित भएको छ । प्रदेश–२ मा मुख्य गरी सर्लाहीमा विवाद छ । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले भाग लिन पाउँछन् । सङ्घीयता लागू भएपछि कांग्रेसले पहिलो पटक प्रदेश तहमा नेतृत्व चयन गर्न लागेको हो । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो एकैसाथ प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

प्रदेशस्तरीय कार्यसमिति चयनका लागि सुरु प्रदेश अधिवेशनमा प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य प्रतिनिधि मानिन्छन् ।

यस्तै प्रदेशभित्रका पार्टीको जिल्ला कार्यसमितिका सभापति, प्रदेशका भ्रातृ /शुभेच्छुक संघ–संस्थाका प्रमुखहरु पनि प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुन पाउने कांग्रेसको विधानले व्यवस्था गरेको छ । विधानअनुसार प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुने प्रदेशका भ्रातृ /शुभेच्छुक संघ–संस्थाका प्रमुखहरुलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्न पाउँदैनन् । प्रदेश अधिवेशनका प्रतिनिधिले कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य रहेका प्रदेश अधिवेशनका प्रतिनिधिमध्येबाट एक जना सभापति चुन्ने छन् ।

अधिवेशनबाट कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेका प्रदेश अधिवेशन प्रतिनिधिमध्येबाट प्रदेश कार्यसमितिका लागि दुई जना उपसभापति, दुई जना महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री चयन हुने कांग्रेस विधानमा व्यवस्था छ। प्रदेश सभापतिले प्रदेश कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी कोषाध्यक्ष मनोनयन गर्न पाउँछ। प्रदेश कार्यसमितिमा रहने सदस्य भने विधानअनुसार अधिवेशनले चयन गर्नेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७