अमेरिकामा एमसीसीबारे समीक्षा, नेपालले चाँडै निर्णय गर्नेमा आशावादी


१ पुष २०७८, बिहीबार
mcc

काठमाडौं । अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्ड बैठकमा नेपालको हालसम्मको प्रगतिबारे समीक्षा भएको छ ।

बुधबार बसेको एमसीसीको बोर्ड बैठकमा एमसीसी-नेपाल कम्प्याक्टको हालसम्मको प्रगतिबारे छलफल भएको थियो । त्रैमासिक बोर्ड बैठकपछि जारी विज्ञप्तिमा नेपालको समीक्षा गर्दै निकट भविष्यमा पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोगलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई ध्यानमा राखेको उल्लेख छ ।

हालै प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई एमसीसी संसदमा लैजाने तयारी गर्न निर्देशन दिएको समाचारहरू सार्वजनिक भएका छन् । नेपालले एमसीसीको पाँच वर्षे अनुदान कार्यक्रम स्वीकार गर्ने कि नगर्ने भनेर निणर्य गर्न ढिलाइ गरेकाले एमसीसीले अब नेपाललाई सहायता दिने निणर्य रद्द गर्ने अनुमान थियो । तर निणर्य नगरेकाले नेपाल सरकारले अनुदान सहायता स्वीकार गर्नेमा एमसीसी बोर्ड आशावादी भएको देखिन्छ ।

एमसीसी बोर्ड बैठकले बेलिज र जाम्बियालाई पाँच वर्षे अनुदान सहयोग कार्यक्रमका लागि छनोट गर्ने निणर्य गरेको छ । एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमुद बाहले भनेका छन्, ‘म बेलिज र जाम्बियालाई सहयोगकोे घोषणा गर्न पाउँदा उत्साहित छु । हामी गरिबी घटाउने तथा दिगो र समावेशी आर्थिक वृद्धिलाई सफल बनाउने कार्यक्रमहरु सँगसँगै गर्न तत्पर छौं ।’ एमसीसीले इन्डोनेसिया, लिसोथो, मलावी, मोजाम्बिक, सियरालिओन, टिमोरलगायत देशलाई विकास कार्यक्रमका लागि पुनः चयन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७