तीन दिनमै एक सय ५५ अंकले बढ्यो नेप्से


२१ पुष २०७८, बुधबार
Share Bull and Bear1613396466

काठमाडौं । मंगलबार नेप्से सूचक ६३ दशमलव ०१ अंकले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ बिन्दुमा पुगेको छ । आइतबारदेखि लगातार तीन दिनमा नेप्से एक सय ५५ दशमलव ४७ अंकले बढेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव ८५ अंकले बढेर पाँच सय ३ दशमलव ७२ बिन्दुमा पुगेको छ । बढेको नेप्से सूचकमा लगानीकर्ता ‘सेक्टर’ फेरी-फेरी लगानी बढाइरहेका छन् ।

इस्योरेन्सतर्फ लगानी बढाइरहेका लगानीकर्ता सोमबार फाइनान्स र माइक्रो फाइनान्सतर्फ सोझिएका थिए । मंगलबार आइपुग्दा लगानीकर्ताको आकर्षण विकास बैंक र वाणिज्य बैंकतर्फ देखिएको छ । विकास बैंक समूहको सूचक पाँच दशमलव २३ प्रतिशतले बढ्दा वाणिज्य बैंकको सूचक ३ दशमलव ६१ प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ मध्ये दुईबाहेक अन्य सबै समूहका सूचक सकारात्मक बनेका छन् ।

पछिल्लो समय लगानीकर्ता खुलेर बजारप्रति आकर्षित हुन थालेका छन् । करेक्सन लामो समय रहेर प्यानिक बनेका लगानीकर्ता यतिवेला नाफा कमाउन सक्रिय देखिन्छन् । यसैको प्रभाव अहिले बजारमा परेको बजार विश्लेषकहरू बताउँछन् । बैंकमा निक्षेप बढेको छ भने सेयर कर्जाको समस्या पनि बिस्तारै हल हुँदै गएकाले पनि त्यसको प्रभाव सेयर बजारमा परेको लगानीकर्ता बताउँछन् ।

मंगलबार एक सय ६६ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने २१ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ । जसमध्ये तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको हो ।

नेपाल एसबिआई बैंक, सिन्धु विकास बैंक, ग्लोबल आइएमई बैंक, किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । बैंकतर्फ नबिल बैंकको सेयर मूल्य घटेको छ भने फाइनान्सतर्फ गोर्खाज फाइनान्सको सेयर मूल्य घट्न पुगेको छ । त्यस्तै, उत्पादक समूहअन्तर्गत बोटलर्स नेपाल, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरीको सेयर मूल्यमा गिरावट आएको छ ।

मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३४ स्क्रिप्टको ९१ लाखभन्दा बढीको कित्ता-इकाइ सेयर खरिद-बिक्री हुँदा चार अर्बमाथिको कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेमा नेपाल बंगलादेश बैंक, नबिल बैंक, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी कम्पनी, अपर तामाकोसी हाइड्रोपावर कम्पनीको १४ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

सेयर गतिविधि
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीको तर्फबाट डोलाराम घिमिरे र सगुन शाक्य सञ्चालकमा निर्वाचित भएका छन् । संस्थाको चौथो साधारणसभाले उनीहरूलाई निर्विरोध चयन गरेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७