चार दिनभित्र खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन ‘सर्कुलर’


१७ माघ २०७८, सोमबार
health

काठमाडौं । कोभिड-१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’ गरेको छ ।

सोमबार बसेको छानविन समितिको पहिलो बैठकले माघ २१ गते अपरान्ह ३ देखि ४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकारवाला सबै पक्षलाई यस्तो निर्देशन दिएको हो ।

बैठकले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सूचना जारी गरेको हो । विवरण पठाउँदा डीएचएस-२ प्रणाली अनुसार पठाउन भनेको छ । यसअघि स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोप रेकर्डमा नरहेकोबारे संसदीय समितिलाई जानकारी गराएका थिए । त्यसपछि सरकारले हराएको खोप खोज्नका लागि ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य छन् भने वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव छन् । कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको खोप अभियानका क्रममा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको मन्त्रालयलले सार्वजनिक गरेको थियो ।
हेर्नुस् सर्कुलर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७