भरतपुर अस्पतालमा शैंया अभाव, सुत्केरी भुईंमा सुत्न वाध्य


१८ माघ २०७८, मंगलवार
bharatpur 2

चितवन । प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शैंयाले धान्न मुस्किल हुँदै गएको छ । शैंया संख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो ।

चितवन र छिमेकी जिल्लाका महिलाको प्रसूतिको पहिलो चाहना भरतपुर अस्पताल हुने गर्दछ । गर्भवतीले परीक्षण निजीमा गर्दै आए पनि बच्चा जन्माउन भने भरतपुर अस्पताल आउने गर्छन् । अन्यत्र काम गर्ने चिकित्सकले समेत प्रसूति सेवा लिन भरतपुर अस्पताल आएको पाइन्छ । अस्पतालमा साउनयता पुस मसान्तसम्म सात हजार १९८ जना आमाले शिशु जन्माइसकेका छन् । गत वर्ष यो संख्या नौ हजार ७६६ थियो । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. सुनिलमणि पोख्रेल दैनिक ४० देखि ४५ जनाले यहाँ बच्चा जन्माउने गरेको बताउँछन् ।

बच्चा जन्माइसकेका आमाहरू ठाउँ अभावमा भुईंमा बस्नुपर्ने बाध्यता छ । पोख्रेल भन्छन्, ‘अहिले दैनिक १०/१५ जना भुईंमा सुत्न बाध्य छन् ।’ अस्पतालमा १५० शैंया प्रसूतिका लागि छुट्याइएको छ । शल्यक्रियापछि राख्ने पोष्टअपमा १२ शैंया प्रसूतिका लागि छ । यससँगै १६ वटा मेडिकल क्याबिन भएको पोख्रेल बताउँछन् । उनले थपे, ‘बिरामीको चाप बढी भएका कारण सुत्केरी भइँमा सुत्न बाध्य रहेका छन् ।’ चाहेर पनि शैंयामा राख्न नसकिएको उनको भनाइ छ ।

शल्यक्रिया गरेकालाई भुईंमा राख्न नमिल्ने हुँदा सामान्य अवस्थामा सुत्केरी भएकाहरूलाई भुईंमा राखिन्छ । शल्यक्रिया गरेकाहरूलाई सात/आठ दिनसम्म राख्नुपर्ने हुँदा शैंयाको अभाव हुने गरेको हो । कोभिड १९ प्रकोपसँगै पछिल्ला महिनाहरूमा १५ देखि २० जना सङ्क्रमितको प्रसूति यहाँ हुने गरेको छ । तीमध्ये ३० प्रतिशत हाराहारीलाई शल्यक्रिया गर्ने गरिन्छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्ण पौडेल प्रसूति गर्नेहरूको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको भन्दै सोचेजस्तो व्यवस्थापन गर्न अझै नसकिएको स्वीकार गर्छन् । १६ जना विशेषज्ञ चिकित्सकसहित १२५ हाराहारीमा स्वास्थ्यकर्मी र कर्मचारी यो विभागमा कार्यरत छन् । डा. पौडेलले भने, ‘अस्पतालमा छुट्टै प्रसूति गृह आवश्यक रहेको छ ।’

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले निजी अस्पतालमा जाँदा सामान्य प्रसूतितर्फ ध्यान नै नदिएर शल्यक्रिया गर्ने गरेकाले भुईंमा नै सुत्नु परे पनि भरतपुर अस्पताल आउन रुचाउने गरेको बताउँछन् । उनको भनाइमा अस्पतालमा चिकित्सकसँगै लामो अनुभव भएका स्वास्थ्यकर्मी रहेकाले धेरैले सामान्य तरिकाले बच्चा जन्माउने गरेका छन् । उनले भने, ‘प्रसूतिमा हाम्रो अस्पतालमा जस्तो अनुभवी अन्यत्र कहीँ छैनन् ।’

भरतपुर अस्पतालमा २४ घण्टामा ८५ जनासम्मले बच्चा जन्माएको तथ्याङ्क छ । यसमध्ये ४२ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो । यसै वर्ष पनि ७० जनासम्मको प्रसूति गराइएको अस्पतालले जनाएको छ । गतवर्ष कोभिड-१९ का कारण प्रसूति गराउनेको संख्या घटेको थियो । भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ । अस्पतालमा ६०० शैंया छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७