‘कक्षा नर्स’ को भूमिका निभाउने बालिकाको कोरोनाबाट मृत्यु


१९ माघ २०७८, बुधबार
1 girl acted class nurse died1643765208

काठमाडौं । विद्यालयमा ‘कक्षा नर्स’ को भूमिका निभाउन लगाएपछि कोभिड-१९ संक्रमित भएर मृत्यु भएकी अमेरिकाको भर्जिनिया निवासी १० वर्षीया बालिकाका मातापिताले विद्यालय प्रशासन समक्ष कडा आक्रोश र आलोचना व्यक्त गरेका छन् । उनीहरूले आफ्नो छोरीको मृत्यु सम्बन्धमा गम्भीर अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।

टाउको दुख्न थालेको पाँच दिनपछि अर्थात् गएको सेप्टेम्बर २७ मा टेरेस्सा स्पेर्रीको मृत्यु भएको थियो । टेरेस्साका अभिभावकले उनलाई विद्यालयमा बिरामी बालबालिकालाई नर्सको कार्यालयसम्म पुर्‍याउने जिम्मा दिइएको बताएको ६ दिनपछि उनको मृत्यु भएको हो ।
टेरेस्साको मृत्यु भएको दुई दिनपछिसम्म पनि उनी कोभिड-१९ संक्रमित भएको जानकारी उनका अभिभावकलाई नदिइएको बुझिएको छ । टेरेस्सालाई सेप्टेम्बर २१ मा उनी पढ्ने विद्यालय हिल प्वाइन्ट इलेमेन्ट्रिमा कक्षा नर्सको भूमिका निभाउने अभिभारा दिइएको थियो । विद्यालयका अनुसार उनले बिरामी विद्यार्थीहरूलाई नर्सको कक्षसम्म पुर्‍याउने गरेकी थिइन् ।

तर, विद्यालयले कोभिड-१९ का लक्षण देखिएका विद्यार्थीहरूसँग सम्पर्कमा आउँदा स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण नियम पूर्णरूपमा पालना गरिएको जनाएको छ । विद्यालयले टेरेस्सालाई कहिले संक्रमण भएको भन्ने यकिन समय बताउन सकेको छैन । उनले स्वास्थ्यसम्बन्धी सामान्य समस्या र चोटपटक लागेका विद्यार्थीलाई मात्र नर्सकहाँ पुर्‍याउने गरेको बताइएको छ ।

सो विद्यालयका एकजना शिक्षकले टेरेस्सा र उनले सहयोग गरेका कुनै पनि विद्यार्थीमा कोभिड-१९ को लक्षण देखा नपरेको तथा उनलाई त्यस्तो लक्षण देखिएकाहरूलाई नर्सको कक्षसम्म पुर्‍याउनुपर्ने काम पनि नदिइएको बताएका छन्

टेरेस्साका पिताले बताएका छन्, ‘मेरी छोरीलाई त्यस्तो काममा लगाइनुअघि विद्यालयले हामीसँग अनुमति लिएन । कोभिडको यत्रो भयावह महामारीको बेला एउटी फुच्चीलाई त्यस्तो काम गराउनु हुन्थ्यो ? यो वाहियात र पागलपन काम हो । यदि, कसैले सोधेकै भए पनि मैले रोक्थेँ ।’ टेरेस्साका आमा-बुबाले समयमै छोरीको स्वास्थ्यस्थितिबारे विद्यालयले जानकारी नदिएको गुनासो गरेका हुन् । डेली बिस्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७