ताप्लेजुङमा पहिरोले घरै बगाउँदा सासु-बुहारीको मृत्यु, छोरा घाइते (अपडेट)


३ असार २०७९, शुक्रबार
pahiro taplejung 20220617075814

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा पहिरोले पुररेर सासु-बुहारीको ज्यान गएको छ ।
गए राति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो । अधिकारीको घरमाथि सडक खनिएको थियो । सोहि सडकसँगै गएको पहिरोले घरमतान बगाएको हो ।

यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । विष्णु अधिकारी गम्भीर घाइते भएका छन् । उनलाई हेलिकप्टरबाट उद्धारको तयारी भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । ‘भाग्ने क्रममा उनको आँखा, छाती र टाउकोमा गम्भीर चोट लागेको खबर आएको छ । उनलाई उपचारका लागि स्थलमार्गबाट अस्पतालसम्म पुर्‍याउन बाढी पहिरोका कारण समस्या छ ।’

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपाया समेत पुरेको अनुमान गरिएको छ । यस्तै पहिरोले वडा नम्बर-६ का केही घरमा पनि नोक्सानी भएको छ । सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ६ र ७ पहिरोको उच्च जोखिममा रहेको उपाध्यक्ष लिम्बुले बताए । पहिरोका कारण यी दुई वडाका १०/१५ परिवार विस्थापित भएका उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७