कावाखोलाको भाँचिएको पुल नबन्दा स्थानीयलाई जोखिम


२३ असार २०७९, बिहीबार
bhojpur pul

भोजपुर । भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । रामप्रसादराई र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलाको पुल निर्माणका क्रममा भाँचिएको थियो ।

पुल आठ महिनाअघि भाँचिएको भए पनि हालसम्म पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । गत मङ्सिरमा सो विषयमा सर्वपक्षीय छलफल भएको थियो । पुनर्निर्माणको काम यस वर्षको बर्सातअघि नै सक्ने सहमती भएको थियो । खोलाबाट भाँचिएको पुल हटाउनबाहेक अन्य काम अघि बढ्न नसकेपछि स्थानीयले आवाज उठाएका हुन् ।

प्रादेशिक सडक, पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीले आगामी चैतसम्म पुनर्निर्माण गरिने बताए । निर्माणकै क्रममा पुल भाँचिएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । स्थानीय उमेश कुलुङले भने, ‘पुल निर्माण सुरु हुँदा हामी निकै उत्साहित थियौँ । बन्दै गर्दा पुल भाँचियो । भाँचिएपछि तत्काल बन्ला बन्ने आशा थियो । तर पुनर्निर्माणको काम सुरु भएन । हामी जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ ।’

पैदल यात्रुसँगै सवारीसाधन पार गर्न निकै कठिन हुने गरेको छ । विसं २०७६ फागुन १२ गते पुलको शिलान्यस गरिएको हो । करिब ९० प्रतिशत काम सकिएपछि ढलान गर्ने क्रममा पुल बीचमा भाँचिएको हो । करिब रु पाँच करोडको लागतमा पक्की पुल निर्माण भइरहेको थियो । भोजपुर-मानेभज्याङ-रानीबास-घोडेटार सडकखण्डको उक्त पुल २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । पुलको लम्बाइ ४५ मिटर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७