बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीले गर्‍यो हवाई फायर


२३ असार २०७९, बिहीबार
budhiganga

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मतदान केन्द्र तनाव सिर्जना भएको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

वैशाख ३० गते भएको धाँधली भएपछि स्थगित निर्वाचन पुनः आज भइरहेको छ । बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई गर्नुपरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिएका छन् ।

उनले सत्ता पक्षीय दल र एमाले नेता-कार्यकर्ताबीच विवाद हुँदा १५ मिनेट मतदान रोकिएको जानकारी दिंदै प्रजिअ अधिकारीले भने, ‘प्रहरीले हवाइ फायर गरेपछि अवस्था सामान्य बनेको छ । अब मतदानको अवस्था बनेको छ ।’ यो नेकपा एमालेका नेता कणर्बहादुर थापाको मतदान केन्द्र हो । ३० वैशाखमा स्थगित भएको चुनाव बिहीबार विहान ७ बजेदेखि पुनः मतदान भइरहेको छ । यहाँ मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निणर्य गरेको थियो । यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७