विराटनगरकी निवर्तमान उपमेयरसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२४ असार २०७९, शुक्रबार
upa

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाकी तत्कालीन उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विराटनगर महानगरपालिका-१५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्तियारले शुक्रबार उनीहरुविरुद्ध विगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भ्रष्टाचार आरोपितमा नगर उपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सवइन्जिनियर इफतेखार आलम छन् ।

यस्तै पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेमाथि पनि भ्रष्टाचार मुद्दा लागेको छ । महानगरपालिकामा पेस भएको झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पुर्‍याएको बताइएको छ ।

तत्कालीन नगर उपप्रमुख कार्की र विराटनगर महानगरपालिका-१५ का तत्कालीन वडाध्यक्ष आलमले माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेशिनबाट गरिएको कामलाई अनुगमन प्रतिवेदनमा उल्लेख नगरी गलत मूल्याङ्कनका आधारमा ५ लाख ८ हजार ६६९ हानी पुर्‍याएको ठहर गर्दै अख्तियारले उनीहरुमाथि सोही बराबर बिगो र जरिवानासहित मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।

यस्तै तत्कालीन प्रशासकीय अधिकृत अधिकारीसहित पोखरेल, प्रधान र आलमलाई १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष सुडी, सचिव आचार्य र कोषाध्यक्ष घिमिरेमाथि पनि १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७