दर्शक, अध्येता, अभियान्ता र नेताले रुचाएको खुवालुङ


१३ श्रावण २०७९, शुक्रबार
ashok ghanshyam biswaprakas shrawan and takme scaled

काठमाडौं : काठमाडौंको मण्डला नाटकघरमा ६ साउन २०७९ देखि नाटक खुवालुङ मञ्चन भइरहेको छ । किरातीहरुको सभ्यताको इतिहास बोकेको खुवालुङ गाथा र गरिमा बताउने यो नाटकलाई आम दर्शक मात्रै होइन अध्येता, अभियान्ता र नेताहरुले समेत रुचाएका छन् ।

साहित्यकार राजन मुकारुङको लेखन र युवा निर्देशक किरण चाम्लिङको निर्देशनमा रहेको नाटक हेर्न नयाँ पुस्ताका युवादेखि अध्येता, अभियान्ता र दलका नेताहरु समेत दैनिक रुपमा नाटकघर पुगिरहेका छन् ।

नाटक मञ्चन सुरु भएको ६ साउन यता दैनिक ‘हाउस फुल’ भएको मण्डलाले जनाएको छ । कतिपय दिनमा दर्शकहरु टिकट नपाएर फर्किनु परेको नाटकका लेखक मुकारुङले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘तपाईंहरूको अपार मायालाई हामी यति बेला वर्णन गर्न सकिरहेका छैनौं, गला भरिएको छ । यति भन्छौं-आभारी छौं । धेरैले टिकेट नपाउनु हुँदा तपाईंहरूको जति चित्त दुखेको छ, हामी त झन् कति दुःखी छौं कति !’

Khuwalung


यतिधेरै दर्शकहरुले रुचाएको नाटक ‘खुवालुङमा खास के छ त ?’ किराती संस्कृतिको बिषयमा जानकार पत्रकार नुनुता राई लेख्छिन्, ‘खुवालुङ लुङ (ढुङ्गा) मात्रै होइन, हाम्रो सभ्यता हो, आस्था हो भनेर हामीले भनेको सुन्दै मात्र आउनु भएको छ होला ! कत्तीलाई बुझाउन सक्यौं र बुझ्नु भएको होला कत्तिलाई बुझाउन सकेनौं तब अझै बुझ्नु भएको छैन होला ! यहि कुरालाई अब देखाउन पनि थालिएको छ नाटक मार्फत । हेर्नू होला नि है ! खुवालुङ फुटाउने कुरा गर्दा किन हामी भावुक हुन्छौं, किन आक्रोशित हुन्छौं भनेर स्पष्ट हुनुहुने छ । नाटक हेरिसकेपछी तपाईंहरु पनि हामीसङ्गै उभिन आइपुग्नुहुनेछ ।’

पछिल्लो समयमा पहिचान मुद्दालाई राजनीतिको बाटो बनाएका जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्षमा अशोक राई खुवालुङलाई आफूले अहिलेसम्म हेरेको नाटकहरुको उत्कृष्टतम् कोटीमा राखेको बताउँछन् । भन्छन्, ‘निर्देशनको क्षमता, लेखकीय परिकल्पना, र कलाकारहरुको दक्षता, अभिनयको सजिवतालाई हेर्दा मैले यो नाटकलाई अहिलेसम्म मैले हेरेको उत्कृष्टतम् नाटकहरुको कोटीमा राखेको छु । मैले हेरेका उत्कृष्टतम्ना टकहरुको कोटीमा मैले यसलाई राखेको छु । नाटकले मिथकीय होइन ऐतिहासिक बस्तुगत यथार्थलाई कलात्मक पाराले उद्घाटन गरिएको छ ।’

नेकपा (एमाले)का नेता तथा विचारक घनश्याम भुसालले पनि पहिलो दिन खुवालुङ हेरेका थिए । नाटक उत्कृष्ट भएको उनको प्रतिक्रिया छ । यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नाटकलाई उत्कृष्ट भएको बताए । नाटक हेरेपछि उनको प्रतिक्रिया छ, ‘यस्तो लाग्छ, हामी कुनै नाटक हेरीरहेका छैनौं । डाँडामा बसेर तल भुगोलको यर्थाथ जीवनलाई हेरीरहेका छौं । पीर व्यक्ति गर्ने तरिका, खुसी, आवेग व्यक्त गर्ने तरिका साँच्चिकै जीवन्त छ । मान्छासँगै उभो जाने चाहना राख्ने हाङ्छामा बग्दै गर्दा आँशु आयो । प्रस्तुती साँच्चिकै जीवन्त छ । संयोजन असाध्यै सुन्दर छ ।’

साहित्यकार श्रवण मुकारुङले नाटक असाध्यै भव्य भएको टिप्पणी गर्छन् । उनले लेखेका छन्, ‘पाश्चात्य नाट्य परम्परामा भनिने गरिएको गीति नाटक र ओपेराको खास बान्की यसले प्रस्तुत गरेको देखिन्छ । तर यो नेपाली जीवन दर्शन ,सौन्दर्य वा संरचनाद्वारा अभिव्यञ्जित छ । जसले किरात समुदायको संघर्षमय इतिहासको पृष्ठभूमिमा आजको नेपाली राजनीतिको पेचिलो मुद्दा पहिचानलाई मुखरित गर्दछ । उसो त राजन मुकारूङ सिद्धहस्त लेखक एवं किरण चाम्लिङ प्रतिभा सम्पन्न निर्देशक हुन् । यी दुईको योग र कलाकारहरूको जीवन्त अभिनयले यो नाटक यति भब्य भएको हो ।’नाटकबाट खुवालुङ बारेमा गहिराईमा बुझ्न अवसर मिलेको अभिनेता वल्सन विक्रम राई ‘तोक्मे बुढा’ को भनाई छ ।

नाटक हेर्न सांस्कृतिक अध्येता, अभियान्ता र नेताहरु दैनिक जसो गइरहेको तथ्य मण्डलाको फेसबुक पेजमा देख्न सकिन्छ । किरात जन्य संघ संगठनका अभियान्ताहरुले पनि नाटकलाई उत्कृष्ट भनेका छन् । किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले नाटकले किरातीहरुको संस्कृति र इतिहास चिनाउने प्रयास गरेको बताउँछन् ।

नाटक हेर्न नेकपा (एमाले)का नेताहरु शेरधन राई, यज्ञराज सुनुवार, विशाल भट्टराई, माओवादी केन्द्रका नेता सुदन किराती लगायत पुगेका छन् ।

मण्डल नाटकघरमा साउन २९ पछि अर्को नाटक मञ्चन हुने पूर्वनिर्धारित कार्यक्रम भएको कारण २९ सम्ममात्रै मञ्चन गर्नुपर्ने समयसिमा रहेको लेखक मुकारुङले बताए । उनी भन्छन्, हामीसित नाटक देखाउने मिति पछाडिसम्म धकेल्ने उपाय छैन । च्यापिएका छौं । त्यही भएर हामीले शुक्रवार पनि दुई शो राखेका छौं । ‘पछि मिति सरिहाल्छ, हेरौंला’ भन्ने सोचिरहनुभएको छ भने त्यो अवसर छैन ।

साउन २९ सम्म मञ्चन हुने नाटकमा पशुपति राई, मनाङ लावती, सुशील तामाङ, इंगिहोपो कोइँच सुनुवार, वेदना राई, अनु थापालगायत कलाकारले अभिनय गरेका छन् । कवि स्वप्निल स्मृति र नाटकका लेखक मुकारुङको गीत समावेश छ ।

मण्डलामा खुवालुङ


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७