नेकपा एमालेद्वारा बाराका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस


२० भाद्र २०७९, सोमबार
Bara

बारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बाराका ४ वटै निर्वाचन क्षेत्रबाट नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा आइतबार बसेको क्षेत्रीय कमिटी बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । बैठकले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फको निर्वाचनमा अच्युत मैनाली, पुरुषोत्तम पौडेल र मन्जुदेबी साहको नाम सिफारिस गर्ने निणर्य गरेको छ ।

प्रतिनिधि सभा सदस्यमा सिफारिस भएका मैनाली र पौडेल नेकपा एमाले पोलिटब्युरो सदस्य र मन्जुदेवी साह जिल्ला कमिटीको सदस्य छन् । बैठकले समानुपातिकतर्फ अन्जु नेपाली, दुर्गादेवी घिमिरे, बद्री भट्टराई र पलटप्रसाद चौधरीको नाम सिफारिस गर्ने निणर्य गरेको छ ।

नेकपा एमाले जिल्ला सचिवालय कमिटी सदस्य एंव क्षेत्रीय कमिटीका संयोजक भरत भण्डारीले बैठकको निणर्य सार्वजनिक गरेका हुन् । बैठकमा एमाले नेता पौडेल र मैनालीले आगामी निर्वाचनको लागि पार्टीले जसलाई टिकट दिए पनि सबै मिलेर जिताउनुपर्ने बताए ।

त्यसैगरी एमालेले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ बलवीर चौधरीको एकल नाम सिफारिस भएको छ । चौधरी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बारा जिल्ला इन्चार्ज हुन् । बैठकले रामनाथ बैठा, राजदेव यादव, अमरदेव यादव, सहनाज नेसा, बन्दना सिंह र अरबिन्दप्रसाद यादवलाई समानुपातिकतर्फको उम्मेदवार सिफारिस गर्ने निणर्य गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ बाट ज्वाला साह, अध्यानन्द पाण्डे र एम समिउल्लाको नाम सिफारिस भएको छ । सिफारिसमा परेकी साह एमाले पोलिटब्युरो सदस्य र पाण्डे जिल्ला कमिटी उपाध्यक्ष रहेका छन् । क्षेत्र नम्बर ४ बाट देवनारायण चौधरीको एकल नाम सिफारिस भएको छ । चौधरी एमाले बारा जिल्ला पूर्व अध्यक्ष हुन् ।

यसअघि शनिबार भएको बैठकले जिल्लाका ८ वटै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट पनि उम्मेदवारहरुको नाम सिफारिस गरिसकेको छ । एमालेले सोमबार क्षेत्रीय कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नाममा थप छलफल गरी प्रशेद समितिमा पठाउने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७