गोदावरी राष्ट्रिय उद्यानः वनस्पति र जैविक विविधताको अनुसन्धानको थलो
राष्ट्रकै अमूल्य सम्पत्ति मास्ने चलखेल
काठमाडौं, २६ चैत । देशको अमूल्य सम्पदाका रुपमा रहेको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान मासेर ब्यापारिक स्वार्थमा प्रयोग गर्न लागिएको छ । हरेक देशमा कम्तीमा एक राष्ट्रिय उद्यान हुन्छ । अरु देशमा अरबौं रुपैयाँ खर्चेर वनस्पति संरक्षण गरिन्छ । तर, नेपालमा भएको उद्यान समेत मास्ने खेलमा केही स्वार्थी समूह लागेका छन् । वनस्पति र जैविक विविधिताको देश भनेर चिनिने नेपालमा राजा महेन्द्रले बनाएको राष्ट्रिय उद्यान समेत मासेर ब्यापारिक प्रयोग गर्ने खेलमा राजनीतिक दलकै केही स्वार्थी समूह र नेताहरु लागेका हुन् । जुन दुर्भाग्यपूर्ण भएको वनस्पतिविद्हरु बताउँछन् ।
जीवित म्यूजियमका रुपमा राष्ट्रिय वनस्पति उद्यानलाई थप विकास गर्नुपर्नेमा मास्ने चलखेल हुँदै आएको छ । वनस्पतिविद्हरु शेरबहादुर देउवा सरकारले जाँदाजाँदै विना अध्ययन हचुवाका भरमा बाराको हलखोरियाको पचासौं हेक्टर जमिन कथित तपश्वी रामबहादुर बम्जनको नाममा दिए जस्तै कतै यो उद्यान पनि हचुवाका भरमा ब्यापारीलाई सुम्पने काम गर्ने हो कि भन्ने चिन्तामा छन् । उनीहरु राष्ट्रिय उद्यान पनि निजी क्षेत्रलाई दिएर भावी पिढीलाई देखाउन बाँकी केही नरहने स्थिति सरकारबाट नहोस् भन्छन् ।
वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्–‘राष्ट्रको पहिचान दिने धेरै चिज हुन्छन् । राष्ट्रिय सम्पदा हुन्छन् । मुद्रा, झण्डा, फूल, पंक्षी, निकुञ्ज जस्ता राष्ट्रिय सम्पदा हुन्छन् । त्यस्तै राष्ट्रिय उद्यान हुन्छ ।’ प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव समेत भइसकेका प्राज्ञ श्रेष्ठले उद्यान मास्ने होइन, राष्ट्रिय उद्यानलाई थप संरक्षण गर्नुपर्ने बताउँदै भने–‘राष्ट्रिय वनस्पति उद्यान भनेको अनुसन्धानको थलो हो । आजलाई मात्र होइन, भोलिका सन्ततिका लागि अमूल्य ज्ञान विज्ञानको भण्डार हो । वनस्पति हाम्रो सम्पदा हो । हामी देशको समृद्धिको सपना देखाइरहेका छौैं, राष्ट्रिय वनस्पति उद्यान समृद्धिको थलो हो । यसमा समृद्धि थप्नुपर्छ । ब्यापारिक रुपमा प्रयोग गर्न दिएर मास्न दिनु हुँदैन ।’
देशको अमूल्य सम्पदा राष्ट्रिय उद्यान
सरकार परिवर्तन हुना साथ गोदावरीको ऐतिहासिक वनस्पति उद्यान मासेर ब्यावसायिक प्रयोजनमा प्रयोग गर्न एक समूह सक्रिय हुँदै आएको छ । राजा महेन्द्र बेलायत भ्रमणमा जाँदा त्यहाँको रोयल बोटानिकल गार्डेन इडेनवर्गको अवलोकन गरेपछि त्यसबाट प्रभावित भएर नेपाल आई ललितपुरको गोदावरीमा वनस्पति उद्यान बनाएका थिए । २०१९ कात्तिक १२ मा बेलायतबाटै गार्डेन डिजाइनर बोलाएर गोदावरीमा बनाइएको राष्ट्रिय वनस्पति उद्यानमा ८५० भन्दा बढी प्रजातिका वनस्पति संरक्षण गरिएका छन् । ८२ हेक्टर जमिनमा फैलिएको गोदावरी राष्ट्रिय उद्यान १५ सय १५ मिटरदेखि २ हजार मिटरसम्म फैलिएको छ । उद्यान अवलोकनका लागि विद्यालय र क्याम्पसका गरी बार्षिक ६० देखि ७० हजार विद्यार्थी आउने गरेका छन् ।
‘गोदावरी राष्ट्रिय उद्यान नेपालको मात्र सम्पदा होइन, विश्वकै सम्पदा हो । विश्वब्यापी रुपमै काम लाग्ने जैविक र वनस्पति विविधता त्यहाँ छ’–ब्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट) मा कार्यरत प्राडा रामप्रसाद चौधरीले भने–‘जसरी नेपालले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरिसकेपछि त्यो स्रोत ग्लोबल हेरिटेज हो । तर, त्यसको ‘सोभरनिटी’ त्यही देशको हुन्छ ।
हामी त्यही सिद्धान्तका आधारमा अगाडि बढ्नुपर्छ । गोदावरी राष्ट्रिय उद्यान जोगाउने विश्वका मानवहितका लागि हो, त्यसको मुख्य उत्तरदायित्व देशले लिनुपर्छ ।’ प्राडा चौधरी थप्छन्–‘जैविक विविधता, वनस्पति विविधताका विभिन्न संरक्षित क्षेत्र छन्, ती संरक्षण क्षेत्र सबै हिमालमा छन् । थोरै तराईमा छन् । सबैभन्दा कम मध्यपहाडमा छन् । मध्यपहाडमा भएको महत्वपूर्ण वनस्पति विविधता भएको संरक्षित क्षेत्र हो, गोदावरी राष्ट्रिय उद्यान ।’ उनी अगाडि भन्छन्–‘यो मास्न दिनु हुँदैन ।’ गोदावरी र फूलचोकीमा विश्वमै नपाइने रैथाने वनस्पति र जैविक विविधता छन् । रैथाने वनस्पति नासिए भने अन्त पाउन सकिंदैन । ब्यापारिक दृष्टिकोणले जाना साथ त्यो नासिन्छ । त्यसकारण अहिले जसरी वनस्पति विभाग हुन्छ, यसैगरी विकास गर्दै जानुपर्छ ।
‘वनस्पति उद्यान वनस्पतिको अध्ययन केन्द्रका रुपमा विकास गर्नुपर्छ । यो देशको अमूल्य सम्पत्ति हो,’ राष्ट्रिय वनस्पति उद्यानका कार्यालय प्रमुख दीपक लामिछाने भन्छन्–‘शैक्षिक र अनुसन्धान केन्द्रका रुपमा यसको समयसापेक्ष विकास गर्नुपर्छ । यसको ऐतिहासिक महत्व छ ।’ ८ सय ५० प्रजातिका वनस्पति उद्यानमा संरक्षित छन् । नेपालमा पाइने वनस्पतिमध्ये १० प्रतिशत गोदावरी र फूलचोकीमा मात्र पाइन्छन् । त्यसमा पनि ६ प्रजातिका विश्वमै नपाइने वनस्पति गोदावरीमा पाइन्छन् ।
गोदावरी राष्ट्रिय उद्यानमा विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रीलगायतका विशिष्ट अतिथिका लागि ‘भीभीआइपी’ बृक्षारोपण क्षेत्र छुट्याइएको छ । जहाँ विदेशी विशिष्ट अतिथि नेपाल भ्रमणमा आउँदा बृक्षारोपण गर्दछन् । विद्यालय र क्याम्पसहरुबाट उद्यानको अवलोकन गर्न आएका विद्यार्थीले स्वच्छ पानी बगेको देख्न पाएका छन् । बालबालिकाले काठमाडौंमा कलकल पानी बगेको देख्न पाउने ठाउँ नै पाउन मुस्किल भएको अवस्थामा राष्ट्रिय उद्यानले त्यो आवश्यकता पूरा गरेको छ । उद्यानमा जानेले हिमाल, पहाड र तराईका वनस्पति एकै ठाउँमा हेर्न पाउँछन् ।
डा. तीर्थबहादुर श्रेष्ठका अनुसार गोदावरी राष्ट्रिय उद्यान इन्टरनेशनल बोटानिकल गार्डेनमा सूचीकृत छ । यो संरक्षण गर्न सकिएन भने अन्तर्राष्ट्रिय रुपमै वनस्पति विविधताको क्षेत्रमा नेपाल हट्न सक्छ । नेपालको अस्तित्व बचाउनु पर्छ । हाम्रो देशको परिचयमा गोदावरी उद्यानको वनस्पति विविधता, राष्ट्रिय निकुञ्ज हुन् ।
राष्ट्रिय उद्यान भावी सन्ततिका लागि अनुसन्धान केन्द्र
राष्ट्रिय उद्यानले शैक्षिक भ्रमणमा आउने विद्यार्थीलाई प्रतिब्यक्ति १२ रुपैयाँ मात्र लिएर अवलोकनको ब्यवस्था गरेको छ । उद्यान अवलोकनका लागि १० बर्षदेखि माथिका नेपाली नागरिकका लागि ३४ रुपैयाँ शुल्क तोकिएको छ भने विदेशी सार्क राष्ट्र बाहेकका लागि २ सय २६ रुपैयाँ र सार्क राष्ट्रका नागरिकका लागि ५७ रुपैयाँ शुल्क तोकिएको छ । डा. श्रेष्ठको भनाइ छ–‘वनस्पति बिषयमा स्थलगत रुपमा शिक्षा दिने ठाउँ हो, गोदावरी राष्ट्रिय उद्यान ।’
वनस्पति विविधता नष्ट गर्दै ब्यापारी पोस्ने खेल
गोदावरी नगरपालिका वडा नम्बर–३ मा पर्ने राष्ट्रिय उद्यान वनस्पति विभाग अन्तर्गत छ । यो उद्यान स्थानीय निकायले सञ्चालन गर्ने भन्दै प्रत्येक पटक सरकार परिवर्तन हुना साथ एक समूह सक्रिय हुने गरेको छ । नयाँ वनमन्त्री नियुक्त हुनासाथ स्थानीय निकायलाई उद्यान सञ्चालन गर्न दिनुपर्ने भन्दै दौडधूप हुने गर्दछ । ललितपुरका पूर्व सांसद मदन अमात्यले उद्यानको अवलोकन गरेपछि भावुक हुँदै भनेका थिए–‘पहिला देश अनि मात्र अरु कुरा हुन्छ ।’ राष्ट्रिय उद्यानले नेपाललाई चिनाउने काम गरेकाले यसलाई निजी वा स्थानीय निकायमा हस्तान्तरण गर्नु नहुने धारणा ब्यक्त गरेका थिए । अहिलेसम्म भएका वनमन्त्रीहरु पनि राष्ट्रिय उद्यान अवलोकनपछि नेपालको वनस्पति र जैविक विबिधता संरक्षण गरेकाले यसलाई थप सुदृढ बनाउनुपर्ने पक्षमा पुगेको वन मन्त्रालयका अधिकारी बताउँछन् ।
वनस्पतिविद् श्रेष्ठले गोदावरी उद्यानको विशेषता यसरी प्रकाश पारेका छन्–‘अरु देशका बोटानिकल गार्डेनमा अन्यत्रबाट वनस्पति लगेर रोपिएको हुन्छ । तर, नेपालको गोदावरी राष्ट्रिय उद्यानका अधिकांश वनस्पति यहीँका रैथाने हुन् । अधिकांश वनस्पति त्यहीं थिए, त्यसलाई संरक्षण गरिएको छ । उद्यानभित्रै नेपालका हिमाल, पहाड र तराईका वनस्पति रोपिएको छ । यसरी एकै ठाउँमा हिमाल, पहाड र तराईका वनस्पति अवलोकन गर्न गोदावरी उद्यानमा मात्र सकिन्छ । जटामसी, कुड्की जस्ता बहुमूल्य वनस्पति गोदावरी उद्यानमा संरक्षित गरिएको छ । जुन वनस्पतिबारे धेरै नेपालीलाई थाहा छैन ।’
गोदावरी नगरपालिकाबासीलाई पिउने पानीको अभाव देखाएर उद्यान स्थानीय निकायलाई दिनुपर्ने माग चर्को रुपमा उठाउने गरिएको छ । उद्यानको तल्लो भागबाट गोदावरी नगरबासीका लागि पानी लैजान सकिने विकल्प छ । उद्यानको तल्लो भागमा ड्याम बनाएर पानी लैजाने विकल्प प्रयोग गर्न सकिने उपाय सुझाए पनि उद्यान नै फुत्काउने दाउमा स्थानीय नेताहरु लागेका छन् । यो विकल्प प्रयोग नगरी उद्यान नै स्थानीय निकायलाई दिनुपर्ने अत्तो थाप्ने काम गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनहरुले गर्दै आएका छन् । पराजित नगर प्रमुख श्याम सिलवाल पनि राष्ट्रिय उद्यान स्थानीय निकायलाई दिनका लागि लागेका छन् । स्थानीय निकायले उद्यान सञ्चालन गर्ने भन्दै आएका छन् । स्थानीय निकायले लिईसकेपछि सञ्चालन गर्न सक्दैन । त्यसपछि ब्यापारीलाई लिजमा दिएर वनस्पति उद्यान जस्तो राष्ट्रिय सम्पदालाई ब्यापारिकस्थल बनाउन खोजिएको आशंका वनस्पतिविद्हरुले गरेका छन् ।
पैसामा दाँज्नै नसकिने अमूल्य राष्ट्रिय सम्पदा समेत ब्यापारीलाई सुम्पने देशका रुपमा नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिने छ ।
गोदावरीको वनस्पति र जैविक विविधता नष्ट गर्नका लागि उद्यानमा ब्यापारिक उद्देश्यले केवलकार सञ्चालन गर्ने दाउमा पनि ब्यापारीहरु लागेका छन् । यहि ब्यापारिक समूहको योजनामा राष्ट्रिय उद्यान शुरुमा स्थानीय निकायले सञ्चालन गर्ने भनेर वनस्पति विभागबाट खोस्न लागिएको छ । र, पछि स्थानीय निकायले सञ्चालन गर्न सकेन भनेर ब्यापारिक समूहले लिने कोशिस भइरहेको वन मन्त्रालयका अधिकारी बताउँछन् ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसँग गोदावरी राष्ट्रिय उद्यान देशकै सम्पत्तिका रुपमा कायम राख्न छोडेर किन स्थानीय निकाय अन्तर्गत ल्याउन खोजिएको हो भन्नेबारे प्रतिक्रिया लिनका लागि पटक–पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।