सत्ता गठबन्धनले सातै प्रदेशमा आम निर्वाचन लक्षित संयुक्त भेला गर्ने


२८ आश्विन २०७९, शुक्रबार
Gathabandhan new

काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आम निर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो । बिहीबार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय गरेको हो । कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्ने जनाएको छ ।

यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने छ । कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ ।

कार्तिक ५ गते जनकपुर, कार्तिक ६ गते धनगढीमा भेला हुनेछ । भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । यस्तै कार्तिक ६ गते सुर्खेतमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने र कार्तिक ७ गते काठमाडौंमा हुने भेलाको माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ ।

कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३–३ जना सहभागी हुने गठबन्धनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७