कञ्चनपुरबाट ओलीको व्यङग्य : सत्ता गठबन्धन ‘काले-काले मिलेर खाऊ भाले’
बैतडीको मञ्चबाट ओलीको नारा : ‘मंसिर ४, एमाले सरकार’

कञ्चनपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनसँग कुनै नीति–कार्यक्रम नभएको टिप्पढाी गरेका छन् । नेकपा एमाले कञ्चनपुरले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थका लागि मात्र बनेको आरोप लगाए ।
‘गठबन्धनसँग कुनै नीति–कार्यक्रम छैन, कहाँ पुग्ने गन्तव्यविहीन छ’, ओलीले भने, ‘गठबन्धन काले– काले मिलेर खाउँ भाले जस्तो छ, देशलाई कसरी लुट्ने भनेर लागेका छन् ।’ विकास र समृद्धिका लागि नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ थियो । ‘एमालेले बहुमतको सरकार बनाउँछ, अनि मात्रै विकासको अभियान चल्छ,’ उनले भने ।
यसैबीच आजै चुनाव प्रचारका क्रममा बैतडी पुगेका एमालेका अध्यक्ष ओलीले अहिलेको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् । चुनाव प्रचारका क्रममा बैतडी पुगेका ओलीले कठपुतली सरकारबाट देश नचल्ने बताएका हुन् ।
‘टालाटुली बटुली, कति राम्री कठपुतली’ ओलीले भने, ‘यो कठपुतली हो । यस्ताबाट सरकार चल्दैन । देश चल्दैन, बन्दैन ।’ आउँदो चुनावपछि आफ्नै नेतृत्वमा एमाले सरकार बनाउने ओलीले दावी गरे । आफ्नो सरकार बनाउने नारा मञ्चबाटै ओलीले लगाए ।
‘मैले भन्नु भन्दा पनि तपाईहरुलाई भन्न लगाउछु’ ओलीले अगाडि भने, ‘तपाईहरुलाई थाहा छ के गर्नुपर्छ । म भन्छु तपाईहरुले जवाफ दिनुहोस् ।’
यसपछि ओलीले भने– मंसिर ४ । केही सहभागीले भने–ओली सरकार ।
ओलीले फेरि त्यही नारा लगाए–मंसिर ४ । सहभागीले भने–ओली सरकार । तेस्रो पटक ओलीले नारा लगाए–मंसिर ४ । फेरि सहभागीले भने–ओली सरकार ।
ओलीले फेरि अर्को नारा लगाए–गठबन्धन वाइवाई, एमाले हाइहाइ ।