कांग्रेसका दुई मन्त्री उम्मेदवार रहेको उदयपुर–१ र सुनसरी–४ मा मतगणना अन्योल


१२ मंसिर २०७९, सोमबार
Narayan Khadka Gyanendra karki

काठमाडौँ । मत गणना रोकिएको उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ र सुनसरी क्षेत्र नम्बर–४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर–१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी–४ मा अस्ती बेलुका सवा ६ बजेदेखि गणना हुन सकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि सहमति जुट्न सकेको छैन ।

उदयपुर–१ मा परराष्ट्रमन्त्री समेत रहेका कांग्रेसका डा. नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

निवदेनबारे निर्वाचन आयोगमा पत्र पठाइसकेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार सर्वदलीय बैठक बसे पनि विवाद टुङ्ग्याउन नसकेकाले आयोगलाई पत्र पठाइएको हो । आयोगले जे निर्णय गर्छ त्यहीँ गर्ने तयारी भएको उनले जानकारी दिए ।

यस्तै, सुनसरी–४ मा बराहक्षेत्र–८ को मतगणना हुँदै गर्दा मतपेटिकाभित्र नभएको ६ सय मत नेकपा एमालेको पक्षमा जोडिएको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आरोप लगाएपछि गणना स्थगित भएको थियो । सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले पनि विवादबारे निर्वाचन आयोगमा जानकारी गराएकाले निर्णय पर्खिएर बसेको बताएका छन् । यो क्षेत्रमा कांग्रेसका कार्की र एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैत मुख्य प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७