बाजुरा : मतगणना अघि बढाउन एमालेलाई बोलाएर सर्वदलीय वैठक बस्दै


१५ मंसिर २०७९, बिहीबार
bajuraa 30112022032632
फाइल फोटो

बाजुरा । बाजुरामा अझै मत गणना कार्य अघि बढ्न सकेको छैन । बाजुरामा दलहरुबीच आज सर्वदलीय वैठक बसेर मतगणना शुरु गर्ने तयारी छ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिएका छन् ।

बाजुराका मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार आज (१५ मंसिर) बिहान ७ बजेका लागि पुनः सर्वदलीय बैठक बोलाइएको छ । ‘हिजोको सर्वदलीय बैठकमा एमालेका प्रतिनिधिहरु उपस्थित हुनुभएन्, आज बिहान ७ बजेलाई हामीले पुनः सर्वदलीय बैठक बोलाएका छौं,’ पौडेलले भने, ‘हामीले बैठकमा उपस्थित हुनका लागि एमालेलाई खबर गरेका छौं ।’ मतगणना कहिलेबाट र कसरी सुरु हुने भन्नेबारेमा सर्वदलीय बैठकपछि मात्रै निर्णय हुने उनले बताए ।

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना शुरु हुन सकेको छैन । मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए ।

मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए । बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो ।

त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो । बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन् । यसैबीच मतगणना रोकिएको स्याङ्जामा गए रातिदेखि गणना शुरु भएको छ । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा गणना रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७