रवि लामिछाने नेतृत्वको रास्वपा सरकारमा जाने तयारी, एजेण्डामा छलफल गर्ने


२५ मंसिर २०७९, आईतवार
Rabi Lamichhane 2

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनका लागि अहिले रवि लामिछानेले गठबन्धनसँग छलफल गरिरहेका छन् । सरकारमा सहभागी हुने विषय लगभग पक्का जस्तै भएको बताइएको छ ।

रास्वपाले गठबन्धनसमक्ष १० एजेण्डाहरु राखेको बताएको छ । ती एजेण्डाहरुमा गठबन्धनसँग कुरा मिले सरकारमा जाने रास्वपाको तयारी छ । रास्वपाले विदेशमा बस्ने नेपालीले भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधार लगायतका एजेण्डाहरु अगाडि सारेको बताइएको छ ।

पहिलो पटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ । त्यसका लागि दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल भइरहेको एक प्रभावशाली नेताले पुष्टि गरे ।
उनका अनुसार पार्टीभित्र भइरहेको छलफलमा पनि रास्वपा सरकारमा जाने विषयमा कुराकानी भइरहेको छ । जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्री समेत रहेका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

उनले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको बताए । ‘हामी मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुनेछौं’, प्रवक्ता ढकालले भने, ‘उदाहरणका लागि सयवटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँच वटा कानुन आउनुपर्‍यो । मन्त्रिपरिषद्ले पारित गर्ने सय एजेन्डामध्ये १० वटा एजेन्डा रास्वपाको प्रस्ताव अनुरुप हुनुपर्‍यो ।’

उनले त्यस्तो गर्ने सहमति भयो भने जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा सहभागी हुने तयारी गरेको बताए । नयाँ सरकार गठनका क्रममा माओवादी एमाले होस् वा कांग्रेस माओवादी वा कांग्रेस एमाले र मधेस केन्द्रित जुनसुकै दलकाबीच पनि सरकार गठनअघि हुने सहमति सम्झौतामा जनताकै लागि काम गर्ने गरी सम्झौता गर्ने र त्यसलाई सार्वजनिक गरेर सरकारमा सहकार्यको औचित्व पुष्टि गरिने उनीहरुको धारणा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७