अध्यादेश प्रमाणीकरणको माग गर्दै थारु समुदायको प्रदर्शन


२८ मंसिर २०७९, बुधबार
resham

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

सरकारले गत आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका हुन् ।

थारु कल्याणकारिणी सभा र थारुहट÷थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति थियो । उनीहरुले अध्यादेश अविलम्व प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरीलगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरीलगायतका आरोपित व्यक्तिहरु निर्दोष रहेका दावी गरेका छन् । उनले टीकापुर घटनाको सम्बन्धमा नेपाली काँग्रेसको आधिकारिक धारणा माग गरे । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेको भन्दै उनले पार्टीको धारणा स्पष्ट पार्न अनुरोध गरे ।

उनले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले द्वेध चरित्र देखाएको आरोप लगाएका छन् । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफूले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनि एमालले द्वेध चरित्र प्रदर्शन गरेको बताए । उनले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणिकरण हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७