शीर्ष नेताहरुलाई पदको अपेक्षाले भेटेको होइन, मन्त्री बन्ने रहर छैन : नेता केसी


२९ मंसिर २०७९, बिहीबार
Arjun narsing KC
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन् ।

नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग भेट गरेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरुसँग भेट बढाएको बताएका छन् । नेता केसीले स्थापित पार्टीहरुको नेता, नेतृत्व, नीति र कार्यशैलीको बिरोधमा नो भोटका रुपमा नागरिकहरुले स्वतन्त्रहरुलाई भोट दिएको बताए ।

उनले भने, ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ । त्यसमा आउने यात्रा चुनौतिपूर्ण छ । जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरु देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको बिरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ । अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो ।’

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँपन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने बताए । उनले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनै पनि पद माग्न नजाने स्पष्ट पारे ।

पूर्व प्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ । नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरुबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताए ।

उनले निर्वाचनमा जनताको बीचमा गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै आजको आवश्यक्ता भएको बताए । काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्ने उनले बताए ।

नेता केसीले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेट गरेका थिए । सोही भेटलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा सभामुखका लागि भेटघाट तीब्र बनाएको समाचार सार्वजनिक भएका थिए । यद्यपी भित्रि चर्चा सभामुखका लागि भए पनि नेता केसीले भने कुनै पनि पद प्राप्तिका लागि आफूले भेटघाट नगरेको दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७