९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता


२२ पुष २०७९, शुक्रबार
Nagarikta pachthar

पाँचथर । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नु पर्‍यो । आवश्यक जानकारी र साथ दिने कोही नहुँदा माझी ९३ वर्षको उमेरसम्म बिना नागरिकता बसिन् ।

हिलिहाङ गाउँपालिका–२ पिनासीकी माझीलाई बिहीबार उनकै घर पुगेका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, हिलिहाङ–२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्यासहितको टोलीले नागरिकता प्रमाणपत्र उपलब्ध गराएको हो । विभिन्न सञ्चारमाध्यममा ९३ वर्षको उमेरमा समेत माझीले नागरिकता प्राप्त गर्न नसकेको तथा नागरिकता प्रमाणपत्र अभावमा राज्यबाट पाउने सबै सेवा सुविधाबाट बञ्चित भएको समाचार प्रकाशन-प्रसारण भएपछि प्रशासन र गाउँपालिकाले चासो दिएको थियो । उनको अवस्था बुझ्न गत साता जिल्ला प्रशासन कार्यालयको टोली माझीको घर पुगेको थियो ।

नागरिकता प्राप्त गर्न योग्य व्यक्ति भए पनि माझीले सो प्रमाणपत्र नपाएको बुझेपछि प्रशासनले उनको घरमै पुगेर उपलब्ध गराएको प्रजिअ गैरेले जानकारी दिए । नागरिकताको प्रमाणपत्र के हो ? भन्नेसम्म नबुझेकी माझीका श्रीमानको दुई वर्षअघि निधन भएको थियो । उनका सन्तान नभएको र अरुका घरमा गएर बस्न नरुचाउने भएका कारण गरिबी र छिमेकीको सहायतामै माझीले जीवन गुजार्दै आएकी छन् । नागरिकताको प्रमाणपत्रकै अभावका कारण उनले सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवा समेत लिन नपाएको माझीका छिमेकी बताउँछन् ।

बाख्रा र कुखुरा पालेर बसेकी उनलाई नागरिकताको प्रमाणपत्रबारे उत्ति चासो भने थिएन । तर अब सामाजिक सुरक्षा भत्ता आउने थाहा पाउँदा भने माझी खुसी छन् । विगतमा श्रीमानको सामाजिक सुरक्षा भत्ताको सहायताबाट गुजारा चलाउन उनलाई सहज थियो । तर श्रीमानको निधनपछि माझीको जीवन अभावमा गुज्रिरहेको छ ।

माझीको रेखदेखको जिम्मा लिने हिलिहाङ गाउँपालिकाले प्रतिबद्धता जनाएको छ । ‘उहाँको सहज जीवनयापनका लागि आवश्यक काम थाल्ने छौं’, गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले भने, ‘घर निर्माण गर्ने र रेखदेखको व्यवस्था गर्छौँ ।’ भत्केको सानो घरमा कष्टकर जीवन बिताउन बाध्य माझी अरुका घरमा गएर बस्न सहमत छैनन् । गाउँपालिकाले घर निर्माण गरी रेखदेखको प्रबन्ध गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७