प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु अबको संसद्को मुख्य काम : प्रमुख सचेतक यादव


२५ पुष २०७९, सोमबार
ramsahay yadhav

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामसहायप्रसाद यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु यो संसद्को मुख्य काम भएको बताए ।

‘गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्नु अहिलेको संसद्को मुख्य काम हो’, उनले भने, ‘सङ्घीयताको कार्यान्वयन गर्ने यसअघिका सरकारको प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन भएको छैन, संविधानले दिएको अधिकार प्रदेशलाई हस्तान्तरण हुन सकेको छैन । सङ्घले नै सङ्घीयतालाई कमजोर बनाउने प्रयत्न गरिरहेको आभास भइरहेको छ ।’

सङ्घीयतालाई असफल बनाउँदै पुनः केन्द्रिकृत शासन फर्काउने प्रत्यत्न भएको दाबी गर्दैै प्रमुख सचेतक यादवले सङ्घीयतालाई बलियो बनाउने काम सबैले गर्नुपर्ने बताए । ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ, त्यसका लागि विभन्न कानून बनाउनु पर्छ’, उनले भने । जनतलाई सङ्घीयताको अनुभूति दिलाउनका लागि अत्यावश्यक मानिएका निजामती, प्रहरीलगायत ऐन अझै जारी हुन नसकेको उनको भनाइ छ ।

नागरिकता विधेयक टुङ्गोमा नपुग्दा लाखौँ नेपाली अझै अनागरिक बन्नुपरेको पुनः स्मरण गराउँदै उनले तुरुन्त नागरिकता विधेयक पारित गरेर गैरनागरिक बनेका नेपालीलाई नागरिकता दिलाउन आग्रह गरे । वर्तमान सरकारले जनताको अपेक्षाअनुसारको काम गर्ने विश्वास व्यक्त गर्दै उनले सरकारले जनजीविकाका सवाल सम्बोधन गर्न ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७