लुम्बिनी प्रदेश : सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन


२७ पुष २०७९, बुधबार
Lumbini pradesh samsad 2

बुटवल । लुम्बिनी प्रदेश सभामा सरकारमा दाबी पेस गर्ने आज (बुधबार) अन्तिम दिन हो । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समय सीमा आज सकिँदै छ ।

मंगलबार (हिजो) नै सरकारमा दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दाबी पेस गर्न सकेनन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका रूपन्देही इञ्चार्ज भूमिश्वर ढकालका अनुसार विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा सोमबार तय गरिएको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा (एमाले) लाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र) मा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने मागसहित काठमाडौंमा छन् ।

तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय संघसँग भएकाले बुधबार (आज) मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको बताए । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते (आज) अपराह्न ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलको सोमबार बसेको बैठकले आज नै बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्ने निर्णय गरेको थियो ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । उनीहरूले सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७