दुर्घटना जाँच आयोगद्वारा जहाजको उपकरण र कागजात संकलन


१० माघ २०७९, मंगलवार
yati air

काठमाडौं । यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै दुर्घटनास्थलको पुनःविस्तृत निरीक्षण गरी आवश्यक पार्टपूर्जा, वायुयानका रेकर्ड, केही प्रत्यक्षदर्शीसँगको कुराकानी र वायुसेवा सञ्चालकबाट आवश्यक कागजात सङ्कलनको गरिसकेको जनाएको छ । ‘नियामक निकायलगायतबाट थप कागजात सङ्कलनको काम भइरहेको छ’, विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार दुर्घटना जाँचको सन्दर्भमा महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डर नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्ष जनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण एवं विश्लेषण गर्न लैजाने तयारी भइरहेको छ ।

‘अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगद्वारा अनुसन्धान जारी रहेको र सबै प्रक्रिया पूरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरिने छ’, विज्ञप्तिमा भनिएको छ । उक्त जहाज दुर्घटनामा चालक दलका सदस्यसहित ७१ जनाको निधन भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ । दुर्घटना लगत्तै सरकारले पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७