मालपोतका कर्मचारीहरुलाई मन्त्री राईको निर्देशन : सेवा प्रवाहलाई सरल र झन्झटमुक्त बनाउनुहोस्

काठमाडौं, १८ माघ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले मालपोत कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछिटो–छरितो, प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने मुख्य हात कर्मचारीहरुको हुन उल्लेख गर्दे मालपोत कार्यालयहरुका कामहरुलाई झन्झटमुक्त बनाउन निर्देशन दिएका हुन् । बुधबार भूमि व्यवस्थापन तथा अभिलेख विभागको काम कारबाही बारेमा ‘ब्रिफिङ’ लिदै मन्त्री राईले जनतालाई सरल, सहज र छिटो गरी सेवा उपलब्ध गराउन निर्देशन दिए ।
विभागका कर्मचारी सहित उपत्यकामा रहेका मालपोत कार्यालयहरु प्रमुखहरु उपस्थित कार्यक्रममा मन्त्री राईले मालपोत कार्यालय र कर्मचारीप्रतिको जनताको धारणा बदलिने गरी काम गर्न निर्देशन दिए ।
मालपोत कार्यालय र यसका कर्मचारीहरुप्रति सेवाग्राहीहरुको बढी नै गुनासो रहने कुराप्रति संकेत गर्दै मन्त्री राईले भने, ‘तपाईहरुले कार्यालयबाट बिदा भएर अर्को ठाउँ जार्दै गर्दा तपाईहरुको बिदाईमा फुल लगाइदिने वाताबरण बनोस् ।’
मन्त्री राईले आफू सामूहिकतामा विश्वास राख्ने उल्लेख गर्दै मन्त्रालय, विभाग र मातहतका कार्यालयहरुको समन्वयमा सेवा प्रवाहलाई प्रभावकारी र सरल बनाउनु पर्नेमा जोड दिए ।
मन्त्री राईले जग्गाको मुल्य निर्धारणमा हुने नीतिगत भ्रष्टचारले ठुलो मात्रमा राजस्व हिनामिना भइरहेको भन्दै मुल्य निर्धारणबाट हुने राजस्व हिनामिना हुन दिन नहुन बताए । मन्त्रालय र कार्यालयहरुविच समन्वय गरेर राजस्व यकिन गर्ने, त्यसरी हिनामिना गर्नेहरुको छानविन गरी कारबाही गर्नुपर्ने बताए ।
मन्त्री राईले आफू हल्लामा होइन काममा विश्वास गर्ने उल्लेख गर्दै कार्ययोजना बनाएर योजनाबद्ध कामहरु गर्ने बताए । उनले भने, ‘हामी हल्लाको पछि लाग्दैनौं परिवर्तन हुने गरी योजनाबद्ध काममा लागौं ।’
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोतका कर्मचारीहरु जग्गा प्रशासन जस्तो महत्वपूर्ण भूमिकामा रहेको बताए । मालपोतका कर्मचारीहरु सबैभन्दा सदाचारी र शुसाशनयुक्त कर्मचारीको रुपमा स्थापित हुने काम गर्नुपर्नेमा जोड दिए ।