सोल्टी होटलमा मलेसिया र नेपाल उच्चस्तरीय श्रम बैठक शुरू


२० माघ २०७९, शुक्रबार
male 1

काठमाडौँ । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वबीच काठमाडौंको सोल्टी होटलमा उच्चस्तरीय श्रम बैठक शुरू भएको छ ।

नेपालीको प्रमुख श्रम गन्तव्यबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा कामदारको हित र सुरक्षामा केन्द्रित द्विपक्षीय छलफल हुने जनाइएको छ । यो बैठकपछि गृहमन्त्री इजमाइलको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कूटनीतिक भेट गर्नेछ ।

मलेसियाका गृहमन्त्री इजमाइल तीन दिने भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आइपुगेका थिए । शुक्रबार दुई घण्टासम्म चल्ने यो बैठकले मलेसियाले छुट्याएको कोटामा नेपाली कामदार प्राथमिकता निर्धारण हुनेछ । मलेसियाले संवेदनशील क्षेत्रमा कामदार अभाव भएपछि तुरुन्तै पाँच लाख कामदार लैजाने नीति लिएको छ । यो नीति लिए लगत्तै मलेसियाको उच्च तहको नेतृत्व नेपालसँग संवाद गर्न काठमाडौं आइपुगेको हो ।

मलेसियाले संवेदनशील क्षेत्रमा रहेका औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै स्रोत देशबाट तुरुन्तै कामदार ल्याउने तयारी गरेको हो । त्यसमध्ये सेवा क्षेत्रअन्तर्गत पर्ने घरेलु कामदार र नेपाली सुरक्षा गार्डबारे मलेसियाको मुख्य चासो छ ।

‘मलेसियाले नेपालबाट घरेलु कामदार र तालिमयुक्त सुरक्षा गार्ड ल्याउने विषयलाई प्राथमिकता राखेको छ,’ मलेसियाका मानव संशाधन मन्त्रालयका एक अधिकारीले भने ।

नेपाल आउनुअघि मलेसियाका मानव संसाधनमन्त्री र गृहमन्त्रीलाई भेटेका मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले यो भ्रमणलाई रणनीतिक महत्वका हिसाबले बुझ्नुपर्ने बताए । ‘यो सामान्य कूटनीतिक भेट मात्रै होइन, विशेष रणनीतिक भ्रमण हो । मलेसियाले यस्तो भ्रमण १५ वटा स्रोत देशसँग गर्दैछ,’ उनले भने । मलेसियाका स्रोत देशबीच सबैभन्दा बढी प्रतिस्पर्धा नेपाल र बंगलादेशबीच छ ।

बंगलादेशले जतिसक्दो बढी कामदार पठाउन मलेसियासँग राजनीतिक तहमा नै पटकपटक भ्रमण गर्दै आएको छ । मलेसियाले नेपाललगत्तै बंगलादेशसँग पनि कामदारकै विषयमा छलफल गर्दैछ । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि गत वैशाखमा मात्रै नेपालका तर्फबाट मन्त्रीस्तरीय भ्रमण भएको थियो । त्यो भ्रमण कूटनीतिक भेटमा मात्रै सीमित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७