उच्चस्तरीय संयन्त्रको बैठकमा उपेन्द्र यादव, सीके राउत र रञ्जिता चौधरी अनुपस्थित


२७ माघ २०७९, शुक्रबार
CK Raut and Upendra

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ । गठबन्धनमा सात दल आबद्ध छन् । तर, बैठकमा चार दलका नेता मात्र सहभागी छन् ।

गठबन्धनमै आबद्ध जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी शीर्ष नेता राजनीतिक संयन्त्रको वैठकमा अनुपस्थित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा रहेको स्रोतले जानकारी दिएको छ । नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी संयन्त्रको वैठक चल्दै गर्दा डिल्लीबजार कारागार पुगेकी छन् । त्यहाँ उनले आफ्ना पति समेत रहेका नेता रेशम चौधरीसित भेटवार्ता गरिरहेको स्रोतले जनाएको छ ।

यस्तै जनमतका अध्यक्ष सीके राउत अहिले काठमाडौं उपत्यका बाहिर रहेका सो पार्टीका एक नेताले जानकारी दिए । बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन मात्र सहभागी छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका तीन दलका नेता बैठकमा सहभागी नभएका हुन् । पछिल्लो समयमा सत्ता गठबन्धनमा असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७