गिटी–बालुवा निकासी करको विवादमा रौतहटमा झडप, चार जना घाइते


२८ माघ २०७९, शनिबार
Jhadap

रौतहट । रौतहटको बृन्दावन नगरपालिकास्थित वागमती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर आज (शनिबार) दुई पक्षबीच झडप भएको छ । झडपमा दुई पक्षका चार जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नगर प्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा स्थानीयले कर उठाउन बनाइएको झुपडी घर समेत भत्काई आगजनी गरिदिएका छन् । नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । झडपमा केही घाइते भएको सुन्नमा आएकाले त्यसतर्फ सुरक्षाकर्मी परिचालन भइसकेको उनले जानकारी दिए । अहिले अवस्था सामान्यजस्तै छ ।’ घटनापछि नगरप्रमुख पटेलका समर्थकहरु गौर–चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् ।

वागमती नदीको दुबै घाटबाट अमानतमा गिटी, बालुवा निकासी हुँदै आएपछि स्थानीयले विरोध जनाएको थियो । यहीबीच शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय नेता बसेर तत्काल अमानतमा निकासीको रसिद काट्न नदिन नगरप्रमुख विनोद पटेललाई अनुरोध गरेका थिए ।

नगरप्रमुख पटेलले तत्काल अमानतमा कर नउठाउने आश्वासन दिए पनि उनका आफन्तहरु मिलेर शनिबार घाटमा रसिद काट्न थाले पछि झडप भएको हो । ठूलो संख्यामा स्थानीय नदिमै पुगेर रोक्न खोजेपछि झडप भएको एमाले नेता प्रेमशंकर यादवले बताए ।

‘हामीले अमानतमा कर उठाउँदा अनियमितता भएको भन्दै नगर प्रमुख पटेललाई तत्काल रोक्न भनेका थियौं । उहाँले हुन्छ भनेर आश्वासन दिनुभयो,’ उनले भने, ‘बोली र व्यवहारमा फरक देखाउँदै आफ्ना मान्छे लगाएर अमानतमै कर उठाउन थालेपछि स्थानीयले प्रतिकार गरेका हुन् । अमानतमा उठाइएको रकम समेत दाखिला भएको छ÷छैन भन्ने कसैलाई थाहा छैन् ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलकै मिलेमतोमा अमानतमा निकासीको कर काट्ने काम भइरहेको भन्दै उनलाई कारबाहीको माग अघि सारेका छन् । बृन्दवन नगरपालिकाले तीन महिनाअघि दुबै नदीबाट गिटिजन्य वस्तु निकासीका लागि ३ करोडमाथि मूल्य राखेर ठेक्का आह्वान गरेको थियो । तर, मूल्य बढी भएको भन्दै कसैले पनि सकार गरेनन् । त्यसपछि नगरप्रमुख पटेलले आफ्ना मानिस लगाएर अमानतमा कर उठाउन खटाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७