अब एक जनाले एउटा लघुवित्तबाट मात्र ऋण पाउने, लघुवित्तलाई लाभांश वितरणमा कडाइ

बैंकका ऋणीले लघुवित्तबाट कर्जा नपाउने


१० फाल्गुन २०७९, बुधबार
laghubitta birodh

काठमाडौँ । एक ऋणीले अब एउटा भन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेर आज (बुधबार) यस्तो व्यवस्था गरेको हो । एउटा भन्दा बढी संस्थाबाट ऋण लिएकै कारण लघुवित्तका ग्राहक ऋणको भारमा थिचिएको निष्कर्षसहित राष्ट्र बैंकले एक व्यक्तिले एउटा भन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको हो ।

‘बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटा मात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ,’ परिपत्रमा भनिएको छ । यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुत्ता गर्न राष्ट्र बैंकले छुट दिएको छ ।

तर साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यस्तै, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा पनि कडाइ गरेको छ । अब लघुवित्तहरुले १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् ।

यसअघि नै राष्ट्र बैंकले तोकेको एकल ग्राहक सीमा नाघ्नेगरी कर्जा लगानी गरेको लघुवित्तलाई एकल ग्राहक सीमा नाघ्नेगरी कर्जा लगानी गर्ने पछिल्लो लघुवित्तले शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

‘एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्’, संशोधित व्यवस्थामा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७