वन्यजन्तुका कारण गहुँ खेतीमा ह्रास


१२ फाल्गुन २०७९, शुक्रबार
Gahu kheti
फाइल फोटो

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती–११ का फेमनारायण पौडेलले आफ्नो खेतबारीमा गहुँको खेती गर्न छाडेको करिब पाँच वर्ष पुग्यो । नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेषगरी गैँडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि पछिल्लो समय उनले आफ्नो खेतबारीमा गहुँखेती नै गर्न छाडेका हुन् ।

पौडेल जस्तै पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश किसानले खेतबारीमा गहुँखेती गर्न छाडेका हुन् । जिल्लाको दक्षिण क्षेत्र माटो तथा हावापानीका हिसाबले गहुँ उत्पादनका लागि उपयुक्त मानिएको भए पनि निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडालगायतका वन्यजन्तुको त्रासका कारण गहुँखेतीमा कमी आएको छ । केही वर्षअघि उत्पादन गरेको गहुँ घरायसी प्रयोजनमा प्रयोग गरेर रहेको बिक्री गर्ने गरेका किसान अहिले गहुँका लागि बजारको भर पर्नुपरेको छ ।

बाली नलाग्दैको हरियो अवस्थाको गहुँको खेत भेट्टाउँदा एकसिङ्गे गैँडा केही पनि बाँकी नराखी चर्ने गरेको पौडेल बताउँछन् । ‘सधैँ खेतमा मचान बनाएर कुर्न पनि सकिन्न, हरियो गहुँ पायो भने गैँडाले फेदसम्मै खाइदिन्छ, त्यसपछि गहुँको उत्पादन त के घाँस पनि हुँदैन’, उनले भने ।

निकुञ्जबाट निस्कने वन्यजन्तुले खेतीबाली नष्ट गरे क्षतिपूर्ति पाइने व्यवस्था भए पनि न्यून क्षतिपूर्ति र झन्झटिलो प्रक्रिया हुँदा किसान मारमा पर्ने गरेका कावासोती–१२ का राजेश लम्सालले बताए । ‘दुःखले लगाएको खेती गैँडाले खाइदिन्छ, क्षतिपूर्ति समयमा पाइन्न, पाइहाले पनि साह्रै थोरै पाइन्छ, वन्यजन्तुको भरपर्दो समाधान नहुँदासम्म खेती गरेर बाँच्न गाह्रो भयो’, उनले भने । विशेष गरी एकसिङ्गे गैँडाले गहुँ कलिलो अवस्थामा अत्यधिक रुचाउने भएकाले निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडा गहुँखेती खोज्दै किसानको खेतबारीमा आइपुग्ने गरेको लम्सालले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गहुँखेती गर्ने किसानको संख्या क्रमशः घटदै गएको कृषि ज्ञान केन्द्रका पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए । मध्वर्ती क्षेत्रका किसानले लगाएको गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम बढेकाले यो क्षेत्रमा गहुँखेती घटदै गएको पौडेल बताउँछन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा गहुँखेती गर्ने किसान घट्दै गए पनि उत्तरी क्षेत्रमा भने गहुँखेती हुने गरेको पौडेलले बताए । उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा सात हजार चार सय ४० हेक्टर जमिनमा २० हजार नौ सय ३० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । चालु आव २०७९÷८० मा सात हजार चार सय ४५ हेक्टर जमिनमा २१ हजार दुई सय १८ मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७