सन् २०२६ सम्ममा नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ


१६ फाल्गुन २०७९, मंगलवार
kulman
फाइल फोटो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२६ सम्ममा नेपाल जलविद्युतमा आत्मनिर्भर बन्ने दावी गरेका छन् ।

आज (मंगलबा)र काठमाडौँमा आयोजित नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत नेपाल जलविद्युतमा आत्मनिर्भर बन्ने अवस्था आउने बताए । उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट बिजुली बढी हुने उल्लेख गरे ।

उनले भने, ‘उर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावट जलविद्युत् उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन् । झन्डै ७ हजार मेगावटको पीपीए भइसकेको छ । यसमा ८ सय मेगावट बिजुली उत्पादन भएर आइसकेको छ । अहिले २५ सय ४४ मेगावट उत्पादन क्षमता भएको छ । प्रत्येक वर्ष ८ सय मेगावट बिजुली उत्पादन बढ्दै गएको छ । सन् २०३५ सम्म ८ हजार मेगावटको माग पुग्ने देखिन्छ । यसरी हेर्दा सन् २०४२÷४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुक्खायाममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छ ।’

कार्यकारी निर्देशक घिसिङले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताएका छन् । उनले सन् २०४२-४३ सम्ममा २० हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए ।
यस्तै निर्देशक घिसिङले जलविद्युत् उत्पादनका लागि १ दशमलव २ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताए ।

उनले एजीम बैंकबाट ७ सय मिलियन, जाइकाले १ सय ४० मिलियन, विश्व बैंक र एडीबीबाट २ मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गरे । उनले जलविद्युत् उत्पादनका लागि नयाँ–नयाँ प्रोजेक्टहरू बनाउनका लागि अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताए । सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको कार्यकारी निर्देशक घिसिङले बताए । उनले प्राधिकरण जलविद्युत् उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७