पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान


२५ फाल्गुन २०७९, बिहीबार
pokhara airport 1

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) देखि नियमितरूपमा रात्रिकालीन उडान शुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान-अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू भएपछि पहिलो पटक बुद्ध एअरले नियमित तालिकामा रात्रिकालीन उडान गर्न लागेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गएको ११ गतेदेखि आईएफआर प्रणाली लागू भएको हो । अहिले विमानस्थलबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ बजेसम्म उडान गर्न सकिने छ ।

आज बेलुका पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्ध एअरका चार जहाजले रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म बुद्ध बाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् । गएको १८ गते सौर्य एअरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि यो उडान नियमित तालिकाअनुसार थिएन ।

पोखराको पुरानो विमानस्थलमा आईएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो । पोखरामा रात्रिकालीन उडान शुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन गएको पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । त्यही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी देशहरुसँग कुटनीतिक पहल भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७