सौराहाको ‘केटो’ चीन जाँदै, स्वास्थ्य परीक्षणमा भयो पास


१३ बैशाख २०७५, बिहीबार
elephant

चितवन, १३ बैसाख । चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैंडाको बच्चा (केटो) लाई चीन पठाउने तयारी गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।elephant

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाइने जानकारी दिए । अहिले केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको खोरमा राखेर पालनपोषण गरिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले केटोलाई चीन पठाउन निकुञ्जले प्रस्ताव गरिसकेको बताए । उनले सकेसम्म उक्त केटो पठाउन पाए जंगलबाट अरु तीनवटा मात्रै नियन्त्रणमा लिन सहज हुने बताए । गएको साउन २८ गते बाढीले बगाएर भारतको शिवपुरीगढी पुर्‍याएको केटोलाई गत भदौ १० गते उद्धार गरिएको थियो । केटोलाई दैनिक दुध, बन्दा, गाँजर, स्याउ दिने गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल अहिले केटो तन्दुरुस्त रहेको बताउँछन् । कोषका पशु चिकित्सक डा अमिर षडौलाले नियमित परीक्षण हुने गरेको बताउँदै अहिले स्वास्थ्य राम्रो भएको उल्लेख गरे । छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णयअनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको छ । एक सातादेखि यहाँ टोली परिचालन भएका छन् । आगामी असारभित्रमा दुई जोडी गैंडा चीन पठाउने योजना रहेको निकुञ्जले जनाएको छ । सौराहामा रहेको केटो चीन पठाउन योग्य भए निकुञ्जबाट अरु एक भाले र दुई पोथी नियन्त्रणमा लिइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७