स्ववियु निर्वाचनमा उत्साहजनक उम्मेदवारी दर्ता, निर्वाचन शान्तिपूर्ण बनाउन अनुरोध


२७ फाल्गुन २०७९, शनिबार
tu election

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको छ ।

आज उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक देशभरि नै सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिए । उनले उम्मेदवारी दर्ता प्रक्रिया रोकिएका क्याम्पसमा वार्ता गरी सहमति गरेर राति अबेरसम्म भए पनि निर्वाचनमा प्रक्रिया गर्न निर्देशन दिएको बताए ।

‘देशभरिका क्याम्पसमा उत्साजनक रुपमा उम्मेदवारी दर्ता भएका छन्’, उनले भने, ‘केही अवरुद्ध भएका क्याम्पसमा राति १० बजेसम्म भए पनि वार्ता र सम्वाद गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छौँ ।’ विद्यार्थी सङ्गठनले आआफ्नो ब्यानरसहित उम्मेदवारी दर्ता गराउन क्याम्पसमा पुगेका थिए । स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारीले मनोनयन गरिएको हो ।

आज बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार विसं २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन् ।

निर्वाचनका लागि वार्षिक परीक्षाअन्तर्गत कार्यतालिका प्रकाशन भएसँगै भर्ना र सेमेष्टरतर्फ एक हप्ताअघि नै भर्ना प्रक्रिया रोकिएको थियो । त्रिविले यसअघि पटक–पटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी सङ्गठनबीच भएको विवादले निर्वाचन हुन सकेको थिएन ।

प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । निर्देशनालयका निर्देशक अधिकारीले आज मनोनयन पत्र दर्ता गराएका प्रत्यक्षतर्फका उम्मेदवारको नाम नामावली आजै प्रकाशन गरिएको बताए । उनका अनुसार उपत्यकाको त्रिचन्द्र कलेज र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको छैन ।

उपत्यका त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल ल क्याम्पस, पद्मकन्या क्याम्पस, सरस्वती क्याम्पस, पशुपति बहुमुखी क्याम्पसलगायत सबै क्याम्पसमा निर्वाचनमा विद्यार्थी सङ्गठनले उत्साहजनक रुपमा सहभागी भई उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारको नामावली उपर दाबी विरोध भोलि फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।

स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुरोध
विभिन्न विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकार समक्ष अनुरोध गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सरकार, सम्बन्धित विश्वविद्यालय तथा क्याम्पस प्रशासनसँग आग्रह गरेका हुन् । उक्त कार्यमा आफूहरू प्रतिबद्ध रहेको ती सङ्गठनको भनाइ छ ।

आसन्न स्ववियु निर्वाचनमा नेविसङ्घ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियु गरी तीन विद्यार्थी सङ्गठनबीच तालमेल गरेर जाने सहमति पनि भएको छ । ती सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौँ उपत्यका र उपत्यका बाहिर समेतका क्याम्पसमा तालमेल गरेर जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । सहमतिअनुसार सबै सङ्गठनको मातहतका कमिटीहरुले कार्यान्वयन गर्नु गराउन निर्देशन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७