यो गठबन्धन पाँच वर्षसम्म टिक्छ : माधव नेपाल

राष्ट्रिय समस्या समाधानका लागि सर्वपक्षीय बहस थाल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव


६ चैत्र २०७९, सोमबार
Madhav nepal samsad

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको नयाँ गठबन्धन पाँच वर्षसम्म टिक्ने दावी गरेका छन् । आज (सोमबार) को प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने जानकारी गराउँदै उनले यो गठबन्धनले राजनीतिक स्थिरता दिने र पाँच वर्षसम्म टिक्ने दावी गरे ।

नेपालले भने, ‘यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ । राजनीतिक स्थीरता दिन्छ । राष्ट्रका चुनौति सामना गर्न यो गठबन्धन एकबद्ध भएर अघि बढ्छ ।’ नेपालको राजनीति तरल अवस्थामा रहेको बताए । नेपालले भने, ‘मान्छेले सोचेका थिएनन्, सरकार छिटो छिटो गठन पुर्नगठन हुनेछ भनेर ।’ नेपालले आर्थिक मन्दीबाट देशलाई मुक्त गर्न जरुरी रहेको बताए । सरकारले कृषिलाई उच्च प्राथमिकता दिन आवश्यक रहेको नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले राष्ट्रिय समस्या समाधानका लागि बृहत् सर्वपक्षी छलफल थाल्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा ‘रोष्ट्रम’ मा उभिएर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो सुझाव दिएका हुन् । ‘प्रधानमन्त्री ज्यू, मैले यसअघि पनि सर्तसहितको समर्थन दिएर १५ बुँदामा सुझाव दिएका थिएँ । अहिलेको परिस्थिति आउँछ भन्ने संकेत मैले त्यस बेला नै गरेको थिएँ । किनभने, मैले राजनीति दलहरूको नाडी छामेको थिएँ’, नेता नेपालले भने, ‘गलत कुराको वैधानिकताका लागि दिएको दबाबमा मैले जवाफ पनि दिएको थिएँ । अब राष्ट्रिय समस्याको समाधान गर्नु आवश्यक छ ।’

सर्वपक्षीय छलफलबाट राष्ट्रिय समस्या सम्बोधनको प्रयास थाल्न सुझाव दिँदै उनले आयात रोकेर वा विकास निर्माण रोकेर विदेशी मुद्रा सञ्चिति गर्ने नीति बदल्न पनि सुझाव दिए । ‘प्रधानमन्त्री ज्यू, अब देशका समस्या समाधानका लागि बृहत् सर्वपक्षीय छलफल थाल्नुस् र निकासको बाटो खोज्नुस्’, उनले भने, ‘आयात रोकेर, विकास निर्माण रोकेर विदेशी मुद्रा सञ्चिति समाधान हुन सक्दैन ।’ उनले विकास निर्माणले रोजगारी सिर्जना गर्ने र अर्को ढंगबाट अर्थतन्त्रको व्यवस्थापन हुने भन्दै काम रोकेर मुद्रा सञ्चितिको अर्थ नहुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७